काठमाडौं, १३ साउन । फिनल्यान्डका तीव्र गतिका बलर महेश ताम्बेले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम बलमा ५ विकेट लिने कीर्तिमान बनाएका छन् । उहाँले इस्टोनियाविरुद्ध खेलिएको तेस्रो टी–२० अन्तर्राष्ट्रिय खेलमा जम्मा ८ बलमा ५ जना ब्याटरलाई पभिलियन फर्काउँदै नयाँ कीर्तिमान बनाएका हुन् ।
यसअघि यो कीर्तिमान बहराइनका जुनैद अजीजको नाममा थियो, जसले सन् २०२२ मा जर्मनीविरुद्ध १० बलमा ५ विकेट लिएका थिए । ताम्बेले आइतवार सम्पन्न तेस्रो टी–२० खेलमा इस्टोनियाविरुद्ध सानदार प्रदर्शन गर्दै उक्त उपलब्धि हासिल गरेका हुन् । खेलमा फिनल्यान्डले पहिले बलिङ गर्दै इस्टोनियालाई १९.४ ओभरमा १४१ रनमा समेटेको थियो ।
इस्टोनियाले एक समय २ विकेटको क्षतिमा १०४ रन बनाइसकेको थियो र ठूलो स्कोरको सम्भावना देखिएको थियो । तर, त्यसपछि मैदानमा आएका ताम्बेले स्टेफन गूच, साहिल चौहान, मुहम्मद उस्मान, रुपम बरुआ र प्रणय गीवालालाई आउट गर्दै ५ विकेट लिए। योसँगै इस्टोनियाको इनिङ्स ध्वस्त भयो ।
ताम्बेले जम्मा २ ओभरमा १९ रन खर्चेर ५ विकेट लिए, जसमध्ये ५ विकेट त उनले १.२ ओभर (८ बल) मै लिएका हुन् । त्यसपछि फिनल्यान्डले १४२ रनको लक्ष्य १८.१ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्दै खेल ५ विकेटले जित्यो । फिनल्यान्डका लागि अर्विन्द मोहनले ६० बलमा नटआउट ६७ रन बनाएर जितमा निर्णायक भूमिका खेले।
उनले फराज मेहती अब्बास (१९ रन) र जोर्डन ओ’ब्रायन (१८ रन) सँग महत्त्वपूर्ण साझेदारी गर्दै टोलीलाई जिताए । यो जितसँगै फिनल्यान्डले तीन खेलको टी–२० सिरिज २–१ ले आफ्नो पक्षमा पार्यो ।
यसैबीच, इस्टोनियाका साहिल चौहान टी–२० अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो शतक बनाउने खेलाडी हुन् । उहाँले सन् २०२३ मा साइप्रसविरुद्ध मात्र २७ बलमा शतक प्रहार गरेका थिए । अब ताम्बेले पनि इस्टोनियाविरुद्ध सबैभन्दा छिटो ५ विकेट लिँदै अर्को कीर्तिमान बनाएका छन् ।
प्रतिक्रिया