बागमती प्रदेशका सिँचाइ मन्त्रीद्वारा राजीनामा

मकवानपुर, १३ साउन । बागमती प्रदेश सरकारका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री श्यामबहादुर खड्काले मन्त्री पदबाट राजीनामा दिनुभएको छ । नेपाली कांग्रेसबाट मन्त्री बनेका सिँचाईमन्त्री खड्काले आज मन्त्री पदबाट राजीनामा दिनुभएको हो । खड्काले मुख्यमन्त्री बहादुर सिंह लामा तामाङलाई राजीनामा बुझाउनुभएको हो ।

विविध कारणले आफ्नो जिम्मेवारी बहन गर्न सक्ने अवस्था नरहेकाले राजीनामा दिएको मन्त्री खड्काले बुझाउनुभएको राजीनामा पत्रमा उल्लेख छ । नेपाली कांग्रेस संसदीय दलको नेतासमेत रहनुभएका लामाविरुद्ध गत शुक्रबार संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता भएको थियो ।

अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने कांग्रेसबाट मन्त्री बनेका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठ र युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनलाई मुख्यमन्त्री तामाङले यसअघि नै पदमुक्त गरिसक्नुभएको छ । एक वर्षअघि कांग्रेसका लामाको नेतृत्वमा नेकपा एमालेसहित गठबन्धनको सरकार बनेको थियो ।

प्रकाशित मिति: १३ श्रावण २०८२, मंगलबार  १३ : २३  बजे