रामेछापका मूल सडकमा गाडी गुडाउनै कठिन

रामेछाप, १२ साउन । निर्माण व्यवसायीले निर्धारित समयमा काम सम्पन्न नगर्दा यहाँका मुख्य सडक हिलाम्मे छन् । ग्रामीण कच्ची सडकको ठाउँ–ठाउँमा भासिने र पहिरो गई गाडी गुडाउनै नसकिने बनेका हुन् । जिल्ला पूर्वाधार कार्यालयमार्फत निर्माण भइरहेका मन्थली पकरबास–गोगनपानी–गाल्वा सडक, सित्खा–गोगनपानी–धुलेबेसी–भोटनागी सडक र खिम्ती–रस्नालु–ठोसे सडकलगायतका जिल्लाका महत्वका सडक तथा पक्की पुल निर्माणमा ढिलासुस्ती भएको छ ।

सित्खा–गोगनपानी–धुलेबेसी–भोटनागी सडक गत असोजमा कालोपत्रे गर्नुपर्नेमा हालसम्म सम्पन्न भएको छैन । निर्माण व्यवसायीले समयमा काम नगरेपछि स्थानीयले जिल्ला पूर्वाधार विकासको कार्यालयमा ताला लगाएका थिए । निर्माण व्यवसायी र कार्यालयले तोकिएको समयमा काम सम्पन्न गर्ने प्रतिबद्धता जनाए पनि प्रतिबद्धता पुरा नभएको मन्थली नगरपालिका–१ का स्थानीय पाण्डव सुवेदीले बताउनुभयो ।

त्यसैगरी मन्थली–पकरबास–गोगनपानी–गाल्वा सडक अन्तर्गत पकरबास–गाल्पा सडक कालोपत्रे गर्ने अन्तिम म्याद गतवर्षको असार मसान्तसम्म थियो । म्याद सकिएको एक वर्ष बित्दा पनि कालोपत्रे नभएपछि ठाउँ–ठाउँमा हिलो भएको छ । पकरवास–गोगनपानी–गाल्वा सडक दश किलोमिटर कालोपत्रे गर्ने जिम्मा अर्याल ब्रदर्श र दिवा भुवनेश्वरी जेभीले ४३ करोडमा लिएको थियो ।

७.५ किलोमिटरको गोगनपानी–धुलेबेसी–भोटनागी सडक निर्माणको जिम्मा १७ करोडमा गरिमा रौताहा सगुन र पाँच पोखरी कन्सट्रक्सनले लिएको थियो । १८ महिनामा पुरा गर्ने गरी ठेक्का लागेको काम चार वर्षमा सम्पन्न नहुँदा पनि जिल्ला प्राविधिक कार्यालयले कुनै चासो नदेखाएको खाँडादेवी गाउँपालिका–४ का अध्यक्ष कृष्णप्रसाद पौडेलले बताउनुभयो ।

सोही कार्यालयमार्फत निर्माण भइरहेको खिम्ति–रस्नालु–ठोसे सडक पनि लथालिङ्ग अवस्थामा छ । सो सडकमा जिल्लाको उत्तरी क्षेत्र जाने सवारी साधन घण्टौँसम्म हिलोमा फस्ने गरेका छन् । निर्धारित समयमा काम सम्पन्न नगर्ने निर्माण व्यवसायी र त्यसको अनुगमन गर्ने पूर्वाधार विकास कार्यालय प्रमुखलाई गोकुलगंगा गाउँपालिकाका अध्यक्ष काजीवहादुर खड्काले कारबाहीको माग गर्नुभएको छ ।

कार्यालय प्रमुख ज्यानेन्द्रप्रसाद पुनले भने निर्धारित समयमा काम सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई आफूले सचेत गराइसकेको र पटक–पटक गराउँदा पनि नमानेमा ठेक्का सम्झौता तोडिने बताउनुभयो ।

प्रकाशित मिति: १२ श्रावण २०८२, सोमबार  ०८ : २५  बजे