काठमाडौं, ११ साउन । फ्रेन्ड्स क्लबले एन्फा यु–१६ युथ लिगमा विभागीय टोली एपिएफ फुटबल क्लबमाथि सहज जित निकालेको छ । एन्फा मैदान सातदोबाटोमा आज भएको खेलमा फ्रेन्ड्सले एपिएफलाई ३–१ गोलले हरायो । फ्रेन्ड्सको जितमा मन्दीप ढुङ्गेलले दुई र प्रभात बिसीले गोल गर्नुभयो ।
एपिएफका लागि असिम खड्काले गर्नुभएको सुरुवाती गोल सान्त्वना बन्यो । जितसँगै फ्रेन्ड्सले नौ खेलबाट १९ अङ्क बनाएको छ । पराजित एपिएफको समान खेलबाट १५ अङ्क छ । यस्तै आइतबार नै भएको अर्को खेलमा चर्च ब्वाइज युनाइटेड र सङ्कटा क्लबले २–२ गोलको बराबरी खेल्दै अङ्क बाँडेको छ ।
चर्च ब्वाइजका लागि स्वप्नील दर्लान र अप्सन गुरुङले गोल गर्नुभयो । सङ्कटाका लागि पेम्बा तामाङ र प्रजलकुमार लुम्रेले गोल गर्नुभयो । बराबरीसँगै सङ्कटाले नौ खेलबाट १९ अङ्क बनाएको छ । चर्च ब्वाइजको समान खेलबाट १४ अङ्क छ ।
प्रतिक्रिया