रुसद्वारा उत्तर कोरियामा सिधा हवाई उडान सुरु

मस्को, ११ साउन । रुसले युक्रेनमा उत्तर कोरियाको आक्रमणलाई सघाउने एशियाली सहयोगीसँगको घनिष्ठ सम्बन्धको थप सङ्केतस्वरुप आइतबारदेखि उत्तर कोरियाका लागि सिधा व्यापारिक उडान सुरु गरेको छ । नर्डविन्ड एयरलाइन्सले सञ्चालन गरेको मस्को–प्योङयाङको पहिलो उडान स्थानीय समय अनुुसार आइतबार १६ः०० बजे उडेको थियो र करिब आठ घण्टापछि उत्तर कोरियाको राजधानीमा अवतरण गर्ने तालिका रहेको छ ।

युरोपेली सङ्घले रुसी उडानमा प्रतिबन्ध लगाउनुअघि युरोपका पर्यटकीय गन्तव्यमा उडान भर्दै आएको नोर्डविन्ड एयरलाइन्सले मस्कोबाट प्योङयाङका लागि टिकटको मूल्य ४५ हजार रुबल (५७० अमेरिकी डलर) तोकेको छ । रुसको सरकारी समाचार संस्था तासका अनुसार मङ्गलबार प्योङयाङबाट मस्कोका लागि उडान हुनेछ । रूसको यातायात मन्त्रालयले यो रुट महिनामा एक पटक सञ्चालन गरिने जनाएको छ ।

सन् २०२० मा कोभिड–१९ को महामारीका बेला रेल सेवा बन्द गरेका रुस र उत्तर कोरियाले गत जुन १७ मा यसलाई पुनः सञ्चालन गरेका थिए । प्योङयाङले युक्रेनमा आफ्नो सैन्य कारबाहीमा रुसलाई प्रयोग गर्नका लागि सेना र हतियार उपलब्ध गराएसँगै हालैका वर्षहरूमा दुई देशबीच घनिष्ठ सैन्य सम्बन्ध गाँसिएको छ ।

गत वर्ष रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाको भ्रमण गर्दा उनीहरूले आपसी रक्षा सम्झौतामा हस्ताक्षर गरेका थिए । उत्तर कोरियाले गत अप्रिलमा पहिलो पटक युक्रेनको सीमा क्षेत्रमा युक्रेनसँगको लडाईँका लागि रुसी सेनासँगै आफ्ना सैनिकको एक टुकडी तैनाथ गरेको पुष्टि गरेको थियो ।

प्रकाशित मिति: ११ श्रावण २०८२, आइतबार  १७ : ४२  बजे