हरिद्वार, ११ साउन । भारतको उत्तराखण्ड राज्यमा रहेको एक प्रसिद्ध हिन्दू मन्दिरमा आइतबार भीडभाड भई भागदौड मच्चिँदा कम्तीमा छ जनाको मृत्यु भएको छ । हिन्दू धर्मावलम्बीको पवित्र शहर हरिद्वारस्थित गङ्गा नदीको किनारमा रहेको मनसा देवी मन्दिर जाने सिँढीमा भागदौड मच्चिँदा कैयौँ घाइते भएका छन् ।
‘छ जनाको मृत्यु भएको छ भने १० भन्दा बढी घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ,’ शहरका वरिष्ठ प्रहरी अधिकारी परमेन्द्र डोभलले एएफपीलाई बताउनुभयो । उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले राहत र उद्धारकार्य जारी रहेको बताउनुभएको छ ।
‘यस विषयमा म स्थानीय प्रशासनसँग निरन्तर सम्पर्कमा छु र स्थितिको निरन्तर अनुगमन भइरहेको छ,’ उहाँले भन्नुभयो । धार्मिक चाडहरूमा घातक भागदौड र भीडभाडका कारण यस्ता दुःखद घटना हुने गरेका छन् । गत जुन महिनामा तटीय राज्य उडिसामा एक हिन्दू धर्मावलम्बीको चाडमा अचानक भीड बढेपछि भागदौड मच्चिँदा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै कैयौँ घाइते भएका थिए ।
अघिल्लो महिना पश्चिमी राज्य गोवामा एक लोकप्रिय अग्नि लिएर गरिने पैदल अनुष्ठानका लागि हजारौं मानिस भेला भएका बेला भएको यस्तै घटनामा तीन जनाको मृत्यु भएको थियो । जनवरीमा उत्तरी शहर प्रयागराजमा हिन्दूहरूको महान् चाड कुम्भ मेलामा भएको झडपमा कम्तीमा ३० जनाको मृत्यु भएको थियो ।
प्रतिक्रिया