लुम्बिनी, ११ साउन । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रुपन्देहीको बुटवल उपमहानगरपालिकाअन्तर्गत सञ्चालित विभिन्न विकास आयोजनाको शनिवार निरीक्षण गर्नुभएको छ । रुपन्देही निर्वाचन क्षेत्र नं २ मा सञ्चालित विकास आयोजनाको कार्यान्वयन र गुणस्तरीयताका विषयमा शुक्रबारदेखि उहाँले निरीक्षण गर्नुभएको हो । अर्थमन्त्री पौडेलले आइतबार पनि जिल्लाका विभिन्न विकास आयोजनाको निरीक्षण गर्ने कार्यक्रम रहेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) बुटवल नगर अध्यक्ष शोभाखर पोखरेलले जानकारी दिनुभयो । पौडेलले आज बुटवल उपमहानगरपालिका–१२, १३ र १५ मा सञ्चालित विभिन्न विकास आयोजनाको निरीक्षण गर्नुभएको थियो । त्यस क्रममा बुटवल उपमहानगरपालिका–१३ स्थित प्रदेश सरकारअन्तर्गत निर्माण हुने उजिर सिंह रङ्गशालाको निरीक्षण तथा स्थानीयसँग छलफल गर्दै उनले नियम, कानुन र प्रक्रियागत जटिलता फुकाउन केही ढिला भए पनि अब रङ्गशाला निर्माणको काम अघि बढ्ने बताउनुभयो । उपप्रधानमन्त्री पौडेलले बुटवलको विकास निर्माणका लागि राम्रा योजना ल्याए बजेटको अभाव नहुने भन्दै आश्वस्त पार्नुभयो । “बुटवललाई अब धुलो–हिलोमुक्त सडक बनाउने अभियान थाल्छौँ, त्यसका लागि बजेटको चिन्ता गर्नु पर्दैन। यहाँ सञ्चालित विकास–निर्माणका काममा जनस्तरबाट गुणस्तर, काममा ढिलाइ र प्राविधिक अनुगमन भए÷ नभएका विषयमा नागरिक निगरानी हुनु जरूरी छ। तपाईंहरूले यसमा ध्यान दिनुहोला”, उहाँको भनाइ थियो।
प्रतिक्रिया