पार्टी सदस्यता लिएको ४५ वर्ष पुग्यो, वञ्चित गर्नुपर्ने कुनै कारण छैन: पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं, ९ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई पार्टी सदस्य हुनबाट वञ्चित गर्नुपर्ने कुनै कारण नरहेको बताउनुभएको छ ।
नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन नदिने निर्णय गरेको सन्दर्भमा आज काठमाण्डौमा पत्रकार सम्मेलन गरी उहाँले पार्टीको यो निर्णय अपरिपक्व भएको प्रतिक्रिया दिनुभएको हो । पूर्वराष्ट्रपति भण्डारीले आफू राजनीतिमा आएर देश र नागरिकको सेवा गर्ने विषयलाई अनौठो नमान्न आग्रहसमेत गर्नुभएको छ ।

भण्डारीले राष्ट्रपतिको कार्यकाल सकिएपछि आफूले देशको सामाजिक, आर्थिक र राजनीतिक विषयका साथै अन्तर्राष्ट्रिय राजनीतिक परिस्थितिका बारेमा अध्ययन तथा चिन्तन, मनन गर्दै आएको र आफ्नो राजनीतिक यात्रालाई पार्टीमा आबद्ध भएर अगाडि बढाउने बारेमा सोचेर अघि बढिरहेको बताउनुभयो ।

एमालेको मङ्गलवार सम्पन्न केन्द्रीय कमिटीको बैठकले संविधानको पालना गराउने, राष्ट्राध्यक्ष भइसकेको र गणतन्त्रको प्रतीकलाई दलको कार्यकर्ता र नेता बनाउने विषय सुहाउँदो नभएको निष्कर्ष निकालेको थियो ।

गएको असार १४ गते पूर्वराष्ट्रपति भण्डारीले आफू पुनः सक्रिय पार्टी राजनीतिमा फर्किएको घोषणा गर्नुभएको थियो ।

प्रकाशित मिति: ९ श्रावण २०८२, शुक्रबार  १७ : २०  बजे