मधेश प्रदेशमा तत्काल पाँच सय डीप बोरिङ जडान गर्ने प्रधानमन्त्री ओलीको घोषणा

काठमाडौं, ९ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेशमा पानीको आवश्यकता पूरा गर्न तत्काल पाँच सय वटा ुडीप बोरिङु जडान गरिने घोषणा गर्नुभएको छ ।
महोत्तरीको मटिहानी नगरपालिका–८ विग्ही नदीमाथिको पुल र वडा ६ मा निर्मित प्रसूति गृहको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पानी नपरेर सिँचाइ र खानेपानीको सङ्कट झेलिरहेको मधेश प्रदेशमा तत्कालै पाँच सय वटा डीप बोरिङ जडान गरिने बताउनुभयो ।
हेलिकप्टरमार्फत तराई–मधेशको अवलोकन गर्नुभएका प्रधानमन्त्रीले धेरै जमिन सुक्खा देखिएको भन्दै मधेशका आठ वटै जिल्लामा सिँचाइको व्यवस्थासहित खानेपानीको व्यवस्था गर्न सरोकार पक्षसँग छलफल तथा समन्वय गरी जतिसक्दो छिटो समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सम्बोधनका क्रममा उहाँले मधेश प्रदेशको पूर्वी भागमा रहेको सप्तरी जिल्ला कोशी नदीसँग जोडिएकाले त्यहाँ कम समस्या रहेको तर बाँकी सात वटै जिल्लामा पानीको समस्या समाधान गर्नका लागि सरकार जुटिसकेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले मधेश प्रदेशलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिसकेको सन्दर्भमा किसानसहित पानीको अभावका कारण प्रत्यक्ष रूपमा प्रभावितलाई विशेष कार्यक्रम ल्याइने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

प्रकाशित मिति: ९ श्रावण २०८२, शुक्रबार  १६ : ५८  बजे