मटिहानी, ९ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले महोत्तरीको मटिहानी नगरपालिका ६ मा नवनिर्मित प्रसूति गृहको उद्घाटन गर्नुभएको छ । मटिहानी नगरपालिकाको वडा ८ मा बिग्ही नदीमा निर्माण गरिएको पुलको उद्घाटनपश्चात् प्रधानमन्त्री ओली मटिहानीकै वडा नं. ६ मा पुगेर प्रसूति गृहको उद्घाटन गर्नुभएको हो ।
राष्ट्रिय योजना आयोगको विशेष अनुदान कार्यक्रम र मटिहानी नगरपालिकाको सहयोगमा करिब २ करोडको लागतमा निर्माण गरिएको सो प्रसूति गृहको उद्घाटन प्रधानमन्त्री ओलीले गर्नुभएको हो । मटिहानी नगरपालिका वडा ६ को जरलहवा गाछीभन्दा दक्षिणमा निर्माण गरिएको सो पाँच शय्याको प्रसूति गृहको उद्घाटनसँगै यस क्षेत्रका प्रसूति हुने महिलाहरु लाभान्वित हुने जनाइएको छ ।
मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले मटिहानी नगरपालिकामा बजेट अभावमा ५० शय्याको अस्पताल बनाउन नसकिएको बताउनुहुँदै पाँच शय्याको प्रसूति गृह निर्माणबाट आमा र बच्चा दुवैको स्वास्थ्य बचाउन सकिने बताउनुभयो ।
नवनिर्मित प्रसूति गृहमा अपरेशन कोठा, एनआइसी कोठा, डिलेभरी कोठा, वेटिङ रुम, ओपिडी कोठा, फार्मेसी कोठा, नर्सिङ कोठा, शौचालय, सोधपुछ लगायतका सुविधासम्पन्न कोठाहरु छन् । मटिहानीवासीहरुले प्रसूति गृह निर्माणसँगै शल्यक्रिया, नवजात शिशुहरुको लागि राम्रो हुने जनाएका छन् ।
उद्घाटनको अवसरमा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, श्रम तथा रोजगारमन्त्री शरतसिंह भण्डारी, मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी, मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह, भौतिक पूर्वाधार मन्त्री सरोजकुमार यादव, शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीलगायतको उपस्थिति थियो ।

                    
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                
            






प्रतिक्रिया