काठमाडौं, ९ साउन । न्युजिल्यान्डले जिम्बाब्वेमा चलिरहेको त्रिदेशीय टी–२० शृङ्खलामा लगातार चौथो जीत निकालेको छ ।
हिजो न्युजिल्यान्डले घरेलु टोली जिम्बाब्वेलाई ६० रनले हरायो । १ सय ९१ रनको लक्ष्य पछ्याएको जिम्बाब्वे १८ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १ सय ३० रनमा समेटियो ।
जिम्बाब्वेका लिग टोनी मुन्योङ्गाले ३० बलमा २ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ४० रन जोडे । न्युजिल्यान्डलाई सहज जीत दिलाउन इश सोढीले ४, म्याट हेनरीले २ विकेट लिए ।
त्यसअघि हरारे स्पोर्ट्स क्लबमा टस जितेर ब्याटिङ रोजेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ९० रन बनाएको थियो ।
न्युजिल्यान्डका टिम साईफर्ट र रचिन रविन्द्रले अर्धशतक बनाए । साईफर्टले ४५ बलमा ९ चौका र १ छक्काको सहयोगमा ७५ रन जोडे । यो खेलसँगै त्रिकोणात्मक शृङ्खलाको लिग चरण सकिएको छ ।
शृङ्खलाको शीर्ष दुई देश न्युजिल्यान्ड र दक्षिण अफ्रिका फाइनल पुगिसकेका छन् । उपाधिका लागि न्युजिल्यान्ड र दक्षिण अफ्रिका भोलि खेल्नेछन् ।
प्रतिक्रिया