पुष्पलालले विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम कहिल्यै गर्नुभएन – प्रधानमन्त्री ओली

काठमाडौं, ७ साउन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल सही विचार, गतिशील संगठन र समर्पित नेतृत्वका धनी भएको बताउनुभएको छ। उहाँले समाज बदल्ने सपना बोकेकाहरूले उनका विचारलाई अनुशरण गर्नुपर्नेमा जोड समते दिनुभयो । नेकपा (एमाले)को केन्द्रीय कार्यालय, च्यासलमा बुधबार आयोजित ४७ औं पुष्पलाल स्मृति दिवसको कार्यक्रममा एमालेका अध्यक्ष समेत रहेका ओलीले सिद्धान्त छोडेर भाग्ने र विरोधीसँग गएर घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै नगरेको बताउनुभयो । ‘पुष्पलाल आदर्शप्रति सधैँ दृढ रहनुभयो । उहाँका केही सीमाहरू थिए होलान् तर विचार र काममा उहाँ अग्रणी हुनुहुन्थ्यो । उहाँ साँच्चैको क्रान्तिकारी व्यक्ति हुनुहुन्थ्यो’, ओलीले भन्नुभयो , ‘जात र धर्मबाट उहाँ माथि हुनुहुन्थ्यो । आफ्नो थरमा श्रेष्ठ लेख्नुभएन । नेपालमा कम्युनिस्टहरूको संगठनलाई गतिशील रूपमा हाँक्न सक्ने नेता हुनुहुन्थ्यो । उहाँ सही विचार र समर्पित नेतृत्व भएको व्यक्ति हुनुहुन्थ्यो । उहाँकै लिगेसी बोकेको एमालेका नेता कार्यकर्ताले ती पक्षहरूलाई बिर्सन मिल्दैन ।’ १९८१ असार १५ गते रामेछापको भँगेरीमा जन्मिएका पुष्पलालले नै कार्लमार्क्स र फ्रेडरिक एङ्गेल्सद्वारा लिखित ‘कम्युनिस्ट घोषणापत्र’लाई पहिलो पटक नेपाली भाषामा अनुवाद गर्नुभएको थियो । उहाँकै नेतृत्वमा नेपालमा पहिलोपटक २००६ वैशाख १० गते नेकपा स्थापना भएको थियो । उहाँको २०३५ साउन ७ गते उपचारका क्रममा भारतमा निधन भएको थियो ।

प्रकाशित मिति: ७ श्रावण २०८२, बुधबार  २१ : ५९  बजे