मधेशमा खानेपानीको समस्या समाधान गर्न सरकारले कुनै कसर बाँकी राख्दैन – प्रधानमन्त्री

काठमाडौं, ७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेशमा भएको खानेपानीको समस्या समाधान गर्न सरकार गम्भीर रूपमा लागिपरेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सोधेका प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्री ओलीले खानेपानीको समस्या समाधान गर्न सरकारले कुनै पनि कसर बाँकी नराख्ने बताउनुभएको हो । उहाँले आज मात्रै मधेश प्रदेशलाई प्राकृतिक विपत्तिग्रस्त क्षेत्र घोषणा गरिएको उल्लेख गर्नुभयो । उहाँले मधेश प्रदेशमा रहेको खानेपानीको समस्या समाधानका लागि तत्कालीन र दीर्घकालीन समाधानका उपायहरूको खोजि गरिने पनि बताउनुभयो ।

प्रधानमन्त्री ओलीका अनुसार अहिलेसम्म ९५ प्रतिशत नागरिकलाई ट्याङ्करमार्फत सरकारले खानेपानी वितरण गरिसकेको छ भने बाँकी पाँच प्रतिशतलाई समेत वितरण गरिनेछ ।

उहाँले भन्नुभयो, ‘मधेश प्रदेशलाई प्राकृतिक विपत्तिग्रस्त क्षेत्र भनेर निर्णय गरेर आएको छु । अब त्यहाँ कुनै पनि समस्या भयो भने आपत्कालीन ढङ्गले बजेटको व्यवस्था गर्न सकिने र कुनै पनि सामान किन्न सजिलो हुनेछ । खानेपानीविना कोही रहने छैन, खानेपानीको व्यवस्था सरकारले गर्छ ।’

प्रधानमन्त्रीले मधेशमा खानेपानीको समस्या दीर्घकालीन रूपमा समाधानका लागि पानीका स्रोतहरूको खोजी भइरहेको पनि बताउनुभयो ।

प्रकाशित मिति: ७ श्रावण २०८२, बुधबार  १७ : ३७  बजे