काठमाडौं, ४ साउन । देशका विभिन्न ठाउँमा पानी परेको छ । गएराति पूर्वका धेरै ठाउँ, काठमाण्डौ उपत्यका र पश्चिमका कास्की, लमजुङ, पर्वतलगायतका जिल्लामा पानी परेको हो । सुनसरीको सार्दु खोला मदन भण्डारी राजमार्ग जलमापन केन्द्रमा जलसतहले खतरा तह पार गरेको छ ।
त्यस्तै इलामको माईखोला, देउमाई, चिसापानीमा जलसतहले सतर्कता तह पार गरेको छ । पर्वतको मोदी खोला जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास छ । तर बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र आसपास बसोबास गर्ने र नदी किनार भइ यात्रा गर्नेलाई सतर्कता अपनाउन भनिएको छ ।
त्यस्तै कास्कीको लुम्लेमा ठूलो वर्षा भएको छ । त्यस्तै लमजुङको भुजुङ क्षेत्रमा हल्कादेखि मध्यम वर्षा मापन भएको छ भने खोलाहरूमा बहाव बढ्न सक्ने जोखिम छ । सिन्धुपाल्चोकको गुम्थाङ र बाह्रबिसेमा मध्यम वर्षा मापन भएको छ । ती क्षेत्रबाट बहने खोलामा आकस्मिक बाढीको जोखिम छ । झापाको चन्द्रगढी, अनारमनीमा मध्यमदेखि ठूलो वर्षा भएको छ ।
कन्काई र मैनाचुली जलमापन केन्द्रमा जलसहत सतर्कता तह आसपास छ । कन्काई, मेची, विरिङ, निन्दालगायतका खोलाहरूमा बाढी र होचा भागमा डुबानको सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । ती क्षेत्रमा आज दिउँसोसम्म नै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
ओखलढुङ्गा, खोटाङ, धनकुटा र आसपासका क्षेत्रमा पनि मध्यमदेखि ठूलो वर्षा मापन गरिएको छ । स–साना खोलामा आकस्मिक बहाव र पहिरोको जोखिम बढेको छ । मौसमविद् प्रतिभा मानन्धरका अनुसार सक्रिय मनसुनी प्रणालीका कारण आज पूर्वी नेपालदेखि लुम्बिनीसम्म र भोलि पश्चिमी नेपालमा ठूलो पानी पर्न सक्ने सम्भावना छ । आज र भोलि ती क्षेत्रमा उच्च सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।
नदीकिनार, होचा भाग र पहाडी क्षेत्रका बासिन्दालाई सतर्क रहन, तथा आज र भोलि विशेष गरी पृथ्वी राजमार्ग, बीपी राजमार्ग र बुटवल–नारायणगढ सडकखण्डमा यात्रा नगर्न विज्ञले सुझाव दिएका छन् । देशका अरू ठाउँमा पानी परे पनि मधेश प्रदेशमा भने उल्लेखनीय वर्षा नहुने अनुमान छ । भोलि राति वा पर्सि मङ्कलवार बिहानदेखि देशभरको मौसम क्रमशः खुल्ने सम्भावना छ ।
प्रतिक्रिया