काठमाडौं, २ साउन । स्वास्थ्य बीमा गरेका व्यक्ति कडा रोगको संक्रमणमा परेमा अब दुई लाख रुपैयाँ सम्मको उपचार सहुलियत पाउने भएका छन् । स्वास्थ्य बीमा बोर्डको गत २६ असारमा बसेको बसेको बोर्ड बैठकले स्वास्थ्य बीमा नियमावली २०७५ मा भएको व्यवस्था अनुसार कडा रोगको संक्रमणमा परेका बीमितलाई १ साउन देखि लागू हुने गरी थप एक लाख रुपैयाँ उपचार सहुलियत उपलव्ध गराउने निर्णय गरेको हो ।
सो बैठकले ‘स्वास्थ्य बीमा कार्यक्रममा थप एक लाख सम्मको सुविधा पाउने सम्वन्धी कार्यविधि–२०८२’ समेत स्वीकृत गरेको थियो । बोर्डका अध्यक्ष चन्द्रबहादुर थापाले नियमावलीमा भएको व्यवस्थालाई ढिलै भए पनि कार्यान्वयनमा ल्याइएको बताउनुभयो ।
‘खासमा यो छ वर्ष अघि नै लागू हुनु पर्ने थियो । विविध कारणले रोकिएको रहेछ । यसपटक हामीले नियमावलीमा भएको व्यवस्था कार्यान्वयनमा ल्याउने निर्णय गरेका हौँ । त्यसका लागि छुट्टै कार्यविधि समेत बनिसकेको छ । त्यसमा सुविधा सम्वन्धी व्यवस्था स्पष्ट रुपमा किटान गरिएको छ ’ उहाँले भन्नुभयो ।
यसअघि असारको पहिलो साता स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्य बीमा नियमावलीमा भएको व्यवस्था अनुसार कडा रोगका बिरामीलाई उपचार सहुलियत थप गर्न स्वास्थ्य बीमा बोर्डलाई निर्देशन दिर्नुभएको थियो । मन्त्रीको निर्देशन पछि बोर्डले बैठकमा यो विषय राखि आवश्यक निर्णय गर्ने बताएको थियो ।
हिजो देखि कार्यान्वयनमा आएको कार्यविधिमा कडा रोगका बिरामीले पहिले नियमित तर्फको एक लाख रुपैयाँको स्वास्थ्य बीमाको सुविधा प्रयोग गर्नुपर्ने र त्यसमा अपुग भएको अवस्थामा थप एक लाख रुपैयाँ सहुलियत दिने व्यवस्था उल्लेख छ ।
के छ नियमावलीमा ?
स्वास्थ्य बीमा नियमावली २०७५ को नियम १७ मा सुविधा सम्वन्धी व्यवस्था रहेको छ । त्यसको उपनियम २ मा ‘बीमितले देहाय बमोजिमको रकमको हदसम्म मात्र सेवा प्राप्त गर्न सक्नेछ’ भनिएको छ ।
त्यसको खण्ड (घ) मा खण्ड (ग) बमोजिमको सुविधा नदोहोरिने गरी सम्वत २०७६ साल साउन १ देखि लागू हुने गरी बीमितलाई अनुसूची ६ मा उल्लिखित रोगहरुको उपचारको लागि थप एक लाख रुपैयाँसम्म भनिएको छ । खण्ड (ग) मा ‘सत्तरी वर्ष उमेर नाघेका जेष्ठ नागरिकले मात्र उपयोग गर्ने गरी एक लाख रुपैयाँसम्म’ भनिएको छ ।
स्वास्थ्य बीमा बोर्डले खण्ड (ग) पहिले देखि नै कार्यान्वयनमा ल्याईसकेको छ । तर, कार्यान्वयनको मिति नै तोकिएको भए पनि घण्ड (घ) मा भएको व्यवस्था यसअघि सम्म कार्यान्वयनमा आएको थिएन ।
बोर्डले यसपटक विशेषत खण्ड (घ) लाई कार्यान्वयनमा ल्याएको हो । अर्थात अब ७० वर्ष उमेर पुगेका जेष्ठ नागरिकले पाउने सुविधा कडा रोग लागेका व्यक्तिले पनि पाउने छन् । तर, यी दुई सुविधा दोहोरो हुने छैन ।
कुन–कुन रोगका लागि थप एक लाख ?
उल्लेखित नियमावलीको नियम १७ खण्ड (घ) मा ‘अनुसूची ६ मा उल्लेखित रोगहरुको उपचारका लागि थप एक लाख रुपैयाँसम्म सहुलियत उपलव्ध हुने’ भनिएको छ ।
सो अनुसूचीमा क्यान्सर, मुटुरोग, मिर्गौला रोग, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सन्स र अल्जाइमर्स रोगहरुको उपचारका लागि थप एक लाख रुपैयाँ दिन सकिने उल्लेख छ ।
क्यान्सर लागेका लुम्बिनी प्रदेशका बीमितको उपचार सहुलियत पाँच लाख रुपैयाँ पुग्यो
स्वास्थ्य बीमा नियमावलीमा भएको व्यवस्था कार्यान्वयनमा आएपछि अब स्वास्थ्य बीमा गरेका लुम्बिनी प्रदेशका क्यान्सर बिरामीले एक पटकका लागि पाँच लाख रुपैयाँसम्म उपचार सहुलियत प्राप्त गर्ने भएका छन् ।
कडा रोगको सूचीमा क्यान्सर पनि पर्ने भएको र उनीहरुले उपचारका लागि स्वास्थ्य बीमा बोर्डबाट थप एक लाख रुपैयाँ सहुलियत उपलव्ध हुँदा कुल दुई लाख रुपैयाँ प्राप्त गर्ने छन् ।
त्यसबाहेक संघीय सरकारले विपन्न नागरिक उपचार कोषबाट क्यान्सर रोगको उपचारमा थप एक लाख रुपैयाँ सहुलियत दिने गरेको छ ।
यस्तै लुम्बिनी प्रदेशले आफ्ना प्रदेशवासीलाई क्यान्सर रोगको उपचारमा लागि तोकिएको अस्पतालमा जाँदा थप दुई लाख रुपैयाँ दिँदै आएको छ । यस हिसावले कुल पाँच लाख रुपैयाँसम्मको उपचार सहुलियत मिल्ने भएको हो । अन्य प्रदेशमा भने दुई लाख रुपैयाँ सहुलियत पुगिसकेको छैन ।

                    
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                
            






प्रतिक्रिया