काठमाडौं, २ साउन । ग्लोबल नेपालीले हरेक वर्ष प्रदान गर्दै आएको ‘ग्लोबल हिरो अवार्ड’ यस वर्ष ज्ञानेन्द्र शाही र कुलमान घिसिङलाई प्रदान गरिने भएको छ । यो अवार्ड आगामी जुलाई २७ मा संयुक्त राज्य अमेरिकाको न्युयोर्क शहरमा ग्लोबल नेपालीद्वारा आयोजित एक भव्य समारोहबीच प्रदान गरिनेछ ।
ग्लोबल नेपालीले हरेक वर्ष नेपालमा आ–आफ्नो क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गर्दै यो अवार्ड प्रदान गर्दै आएको छ । यस वर्ष विशेषगरी ज्ञानेन्द्र शाही र कुलमान घिसिङले राष्ट्र निर्माण र जनसेवामा पुर्याएको अतुलनीय योगदानको कदरस्वरूप यो अवार्ड प्रदान गर्न लागिएको हो ।
ज्ञानेन्द्र शाही, एक प्रभावशाली युवा नेता र सामाजिक अभियन्ताका रूपमा परिचित छन् । उहाँले भ्रष्टाचारविरुद्धको अभियान, सुशासनको वकालत र जनजीविकाका सवालहरूमा निरन्तर आवाज उठाउँदै आउनुभएको छ । त्यसैगरी, कुलमान घिसिङ नेपाल विद्युत् प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक हो, जसलाई लोडसेडिङ अन्त्यको श्रेय पनि जाने गरेको छ ।
उहाँको कुशल नेतृत्व, दृढ इच्छाशक्ति र व्यवस्थापकीय क्षमताका कारण नेपालले दशकौँ लामो लोडसेडिङको अन्धकारबाट मुक्ति पाएको थियो । न्यूयोर्कमा आयोजना हुने यो कार्यक्रममा नेपाली डायस्पोराका साथै विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया