आलमलाई सफाइ दिने फैसलाविरुद्ध सर्वोच्च पुग्यो सरकार

काठमाडौं, २ साउन । कांग्रेस नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई ज्यान मुद्दामा सफाइ दिने उच्च अदालतको फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालय सर्वोच्च अदालत गएको छ । उच्च अदालत वीरगन्ज इजलासका न्यायाधीश खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले गरेको फैसलाविरुद्ध महान्यायाधिवक्ता कार्यालय पुनरावेदनमा गएको हो ।

यसअघि २५ असारमा महान्यायाधिवक्ता रमेश बडालले पुनरावेदनमा जाने निर्णयमा हस्ताक्षर गर्नुभएको थियो । २०६४ सालको संविधानसभा निर्वाचनतामा रौतहटमा भएको बम विस्फोट घटनामा संलग्न रहेको अभियोगमा आलमसहितका व्यक्तिहरूलाई पक्राउ गरिएको थियो ।

घटनामा घाइते भएका व्यक्तिहरूलाई इँटा भट्टामा हालेर हत्या गरिएको आरोप उनीहरूमाथि लागेको थियो । गत जेठ १४ गते उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले आलमसहित सबै आरोपितलाई प्रमाण अभावमा सफाइ दिएको थियो ।

प्रकाशित मिति: २ श्रावण २०८२, शुक्रबार  १४ : ४२  बजे