काठमाडौं, २ साउन । पाकिस्तानमा पछिल्लो २४ घण्टामा भारी मनसुनी वर्षाका कारण ६३ जनाको मृत्यु भएको सरकारको विपद् एजेन्सीले जनाएको छ । बुधबार बिहानदेखि पञ्जाब प्रान्तका केही भागमा मुसलधारे वर्षा हुँदा सहरी क्षेत्रमा समेत बाढीले विध्वंश मच्चाएको छ ।
राजधानी इस्लामाबादको छेउमा रहेको रावलपिन्डी सहर हुँदै बग्ने नदी नजिकै बस्ने बासिन्दाहरूलाई पानीको सतहमा तीव्र वृद्धि भएपछि खाली गर्न आदेश दिइएको छ ।
“पछिल्लो २४ घण्टामा पाकिस्तानभरि ६३ जनाको मृत्यु भएको छ र दुई सय ९० जना घाइते भएका छन् । अधिकांश मृत्यु पञ्जाब क्षेत्रमा भएको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ताले जनाएका छन् ।
राष्ट्रिय मौसम विभागले आजसम्म भारी वर्षा जारी रहने चेतावनी दिएपछि रावलपिन्डी सरकारले मानिसहरूलाई घरमै राख्न सार्वजनिक बिदा घोषणा गरेको छ ।
“जोखिमपूर्ण क्षेत्रका बासिन्दाहरूले आपत्कालीन अवस्थामा तीनदेखि पाँच दिनसम्म खाना, पानी र आवश्यक औषधिहरू सहितको आपत्कालीन किटहरू तयार गर्नुपर्दछ”, सरकारले भनेको छ ।
सन् २०२२ मा मनसुनी बाढीले देशको एक तिहाइ भाग डुबाएको थियो र एक हजार सात सय जनाको मृत्यु भएको थियो ।
प्रतिक्रिया