काठमाडौं, १ साउन । साफ यु–२० महिला च्याम्पियनसिपमा श्रीलंकामाथि नेपालको शानदार जित भएको छ। बंगलादेशको राजधानी ढाकास्थित बसुन्धरा किङ्स इरिनाको अभ्यास मैदानमा भएको खेलमा नेपालले श्रीलंकालाई ७–० गोलले हराएको हो।
पहिलो हाफमा ४ गोल गरेको नेपालले दोस्रो हाफमा ३ गोल थप्यो। नेपालका लागि कुसुम खतिवडा र समीक्षा मगरले समान २र२ गोल गरे। पूर्णिमा राई, बिर्सना चौधरी र सरिता नाथले १(१ गोल गरे।
१६औँ मिनेटमा नेपालका लागि पूर्णिमा राईले गोल गर्दै सेनु परियारले दायाँ तर्फबाट दिएको क्रसमा श्रीलङ्काका डिफेन्डरले क्लियर गर्न खोज्दा माथिल्लो बारमा लाग्दै रिबाउन्ड भयो। सोही बलमा पूर्णिमा राईले हेडर गरेकी थिइन्। उनको हेडर पनि दोस्रो बारमा रिबाउन्ड हुँदा रिबाउन्डमा र दोस्रो प्रयासमा गोलमा परिणत गरेकी हुन्।
खेलको ३५ औँ मिनेटमा वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेकी कुसुम खतिवडाले नेपालका लागि दोस्रो गोल गरिन्। ३३ औँ मिनेटमा सुक्रिया मियाँलाई प्रतिस्थापन गर्दै मैदान छिरेकी कुसुमले २ मिनेट भित्रै गोल गरेकी हुन्। पूर्णिमा राईले बायाँ तर्फबाट दिएको क्रसमा कुसुमले पेनाल्टी बक्स भित्रबाट गोल गरेकी हुन्।
खेलको ४२औँ मिनेटमा सरिता कुमारी नाथले नेपालका लागि तेस्रो गोल गरिन्। उनले मैदानको बायाँ तर्फबाट लङ रेन्जमा फ्री किक मार्फत गोल गरिन्।
कुसुम खतिवडाले ४५ औँ मिनेटमा व्यक्तिगत दोस्रो र नेपालका लागि चौथो गोल गरिन्।
६२ औँ मिनेटमा श्रीलंकाले उत्कृष्ट मौका बनाएको थियो। वान बाइ वानमा नेपालकी गोल किपर लिला जोशी बीट हुँदा गङ्गा रोकायाले गोल लाइनबाट क्लियर गरिन्।
खेलको ६५ औँ मिनेटमा अनिषा राई घाइते हुँदा सीता रोकायाले उनको स्थान लिइन्। त्यस्तै फरवार्डमा पूर्णिमा राईको स्थानमा समीक्षा मगर मैदान प्रवेश गरिन्।
६६ औँ मिनेटमा बल अगाडि बढाउने क्रममा समीक्षा मगरलाई बक्सभित्र लडाउँदा नेपालले पेनाल्टीको अवसर पायो। ६७ औँ मिनेटमा पेनाल्टीमा नेपालकी मिडफिल्डर बिर्सिना चौधरीले पेनाल्टीमा गोल गर्दै नेपालका लागि पाँचौँ गोल गरिन्।
नेपालको लागि ७४ औँ मिनेटमा सरिता नाथले बायाँ तर्फबाट प्रहार गरेको बल किपरले पञ्च गरेर दायाँतर्फ फालेकी थिइन्। सोही बललाई समीक्षा मगरले गोलमा परिणत गरिन्। यो नेपालका लागि छैटौँ गोल थियो।
खेलको ७८औँ मिनेटमा समीक्षा मगरले व्यक्तिगत दोस्रो र नेपालका लागि सातौँ गोल गरिन्।
नेपालले पहिलो खेलमा पनि श्रीलंकालाई ७-० ले हराएको थियो।
नेपालले अर्को खेल भुटानसँग शनिबार खेल्नेछ।
नेपालले लिगको अन्तिम खेल घरेलु मैदान बङ्गलादेशसँग खेल्नेछ।
प्रतिक्रिया