इजरायली आक्रमणमा परी गाजामा थप ९३ जनाको ज्यान गयो

काठमाडौं, १ साउन । इजरायली आक्रमणमा पछिल्लो २४ घण्टामा गाजामा कम्तीमा ९३ जना प्यालेस्टिनी नागरिकको ज्यान गएको छ ।

ज्यान गुमाउनेमध्ये ३० जना खाना सहायताको लागि पर्खिरहेका मानिस रहेको अल जजिरालले जनाएको छ । लगातारको आक्रमणका कारण मृतकको सङ्ख्या अझै बढ्ने अनुमान गरिएको छ ।

यसैबीच, इजरायलले सिरियाको राजधानी दमास्कससहित विभिन्न क्षेत्रहरूमा आक्रमण गरेको छ । सिरियाली सरकारी सञ्चार माध्यमका अनुसार रक्षा मन्त्रालय र राष्ट्रपति भवन नजिकैका क्षेत्रमा आक्रमण हुँदा कम्तीमा तीन जनाको ज्यान गएको छ भने कयौं मानिस घाइते भएका छन् ।

सिरियाको परराष्ट्र मन्त्रालयले दमास्कस र स्वुएदामा भएको आक्रमणको कडा निन्दा गर्दै यसलाई देशमा तनाव र अराजकता सिर्जना गर्ने इजरायल प्रयास रहेको बताएको छ ।

गाजा युद्धका कारण अहिलेसम्म करिब ६० हजारको ज्यान गईसकेको छ भने १ लाख ४० हजार मानिस घाइते भएका गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

इजरायली आक्रमणहरू गाजा र क्षेत्रीय देशहरूमा झनै चर्किँदै गएका छन् जसले मध्यपूर्वमा थप तनाव उत्पन्न भइरहेको छ ।

प्रकाशित मिति: २ श्रावण २०८२, बिहिबार  १२ : ५७  बजे