काठमाडौं, ३२ असार । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले साउनलाई डेङ्गु सचेतना महिना मनाउने घोषणा गरेको छ । आज पत्रकार सम्मेलन गर्दै मन्त्रालयले साउनलाई डेङ्गु सचेतना महिनाको रुपमा मनाउने घोषणा गरेको हो ।
साउन महिनाबाट डेङ्गुको जोखिम बढ्ने हुँदा सुरुवाती चरणमा नै रोगको बारेमा प्रचारप्रसार र समुदाय परिचालन गर्ने उद्देश्यले डेङ्गु सचेतना महिना मनाउने घोषणा गरेको स्वास्थ्य सेवा विभागका डा. टङ्कप्रसाद बाराकोटीले जानकारी दिनुभयो ।
सुरुवाती चरणमा नै डेङ्गु नियन्त्रण गर्न सकेमा डेङ्गुको प्रकोप बढ्न नपाउने डा. बाराकोटीको भनाइ छ । यो महिनामा लामखुट्टेको प्रजनन स्थल तथा लार्भा खोज तथा नष्ट गर अभियानलाई अगाडि बढाउने सरकारको योजना छ । डा. बाराकोटीले सरकारले डेङ्गु सङ्क्रमण दरमा कमी ल्याउनुका साथै डेङ्गुका कारण हुने मृत्युदरलाई घटाउने लक्ष्य लिएको बताउनुभयो ।
सचेतना महिनाको रुपमा साउनमा निगरानी तथा अनुगमन प्रणाली सुधार, कीट नियन्त्रण गर्ने, जोखिम सञ्चार तथा सामुदायिक सहभागिता बढाउने, स्वास्थ्य प्रणालीको पूर्वतयारी तथा प्रतिकार्य, नेतृत्व, बहुक्षेत्रीय सहकार्य र कार्यक्रम व्यवस्थापन सुधार, अनुसन्धान र नवप्रर्वधन गर्ने रणनीति लिएको उहाँको भनाइ छ ।
डेङ्गुका बिरामी वर्षभरी नै प्रतिवेदन भइरहेको हुँदा साउनबाट खोज र नष्ट अभियानलाई नियमित रूपमा सञ्चालन गर्ने बताउनुभयो । उहाँका अनुसार साउनदेखि कार्तिक महिनासम्म एडिस लामखुट्टेको प्रजनको जोखिम बढी हुने भएकोले थप सचेत भई कम्तीमा हप्ताको एक पटक यस्ता गतिविधि अनिवार्य सञ्चालन गर्नु आवश्यक छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले खोज र नष्ट गर अभियान हप्तामा एकपटक मात्र नभई लगातार र नियमित गर्नुपर्ने बताउनुभयो । डेङ्गु नियन्त्रण गर्न समाजका सबै तहको सहभागितामा आवश्यक रहेको उहाँले प्रष्ट पार्नुभयो । हरेक शुक्रबार सफा शुक्रबार अभियान सञ्चालन गर्न मन्त्री पौडेलले आग्रह गर्नुभयो ।
मन्त्री पौडेलले डेङ्गु परीक्षणमा निजी तथा सरकारीको एकरूपमा ल्याउनुपर्नेमा जोड दिनुभयो । मन्त्री पौडेलले भन्नुभयो,‘साउन महिनाबाट डेङ्गुको सङ्क्रमण बढ्ने गर्छ । सुरुवातबाटनै जनचेतना फैलाउने र पूर्वतयारी गर्ने हो भने भदौ, असोज र कात्तिकमा डेङ्गुको सङ्क्रमणदरलाई घटाउन सकिन्छ । त्यसैले सबैले एक
जुट भएर यसका नियन्त्रणका उपाय अपनाऔँ ।’
मन्त्रालयका सचिव डा. विकास देवकोटाले लामखुट्टेको वृद्धि रोकथाम गर्नु नै डेङ्गु नियन्त्रण गर्ने प्रमुख उपाय भएको बताउनुभयो । उहाँले लार्भा नष्ट गर्न र आफ्नो वरपर सफा राख्न सबैलाई आग्रह गर्नुभयो ।
प्रतिक्रिया