काठमाडौँ, ३२ असार । बीपी राजमार्गअन्तर्गत काभ्रे–खण्डमा भोलि बिहीवारदेखि रातमा १२ घण्टा गाडी चलाउन रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय धुलिखेलमा बसेको सुरक्षा समिति बैठकले काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सिमाना नेपालथोकसम्म एक महिनाका लागि रातमा गाडी चलाउन रोक लगाउने निर्णय गरेको हो ।
मनसुनको यो बेला सम्भावित जोखिम न्यूनीकरणका लागि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म एक महिना रातमा गाडी चलाउन नदिने निर्णय भएको काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जानकारी दिनुभयो ।
यो अवधिमा काठमाण्डौबाट छुट्ने गाडीलाई काभ्रेभञ्ज्याङ र काठमाण्डौ भित्रिने गाडीलाई सिन्धुलीको सिमाना नेपालथोकमा रोकिनेछ ।
तत्कालका लागि यात्रुबाहक र निजी गाडीलाई रोकिएको तर आकस्मिक र मालबाहक गाडीको हकमा नियम लागू नहुने उहाँले बताउनुभयो ।
गएको वर्ष असोजको बाढीपहिरोले बीपी राजमार्गअन्तर्गत काभ्रेको चौकीडाँडादेखि सिन्धुलीको बर्खेखोलासम्मको आठ किलोमिटर सडकखण्डमा क्षति भएको थियो । पूर्वी नेपाल जोड्ने बीपी राजमार्गबाट दैनिक सयौं गाडी चल्छन् ।
प्रतिक्रिया