प्रधानमन्त्री ओलीद्वारा भागीरथा बुद्धशान्ति र माई नगर अस्पतालको उद्घाटन

काठमाडौं, २८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दुई वटा अस्पताल भवनको उद्घाटन गर्नुभएको छ । गृह जिल्ला झापाको बुद्धशान्ति गाउँपालिका–३ मा भागीरथा न्यौपाने बुद्धशान्ति अस्पताल र इलामको माई नगरपालिकामा निर्मित अस्पतालको उद्घाटन गर्नुभयो ।

बुद्धशान्ति अस्पताल १५ कठ्ठा जग्गामा छ करोड ५० लाख रुपैयाँ लागतमा १० शैया रहेको छ । महिला प्रधानपञ्च भागीरथाको स्मृतिमा उहाँका छोराछोरीले प्रदान गरेको जग्गामा अस्पताल निर्माण गरिएको बुद्धशान्ति गाउँपालिका एवम् अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मनोज प्रसाईंले बताउनुभयो ।

आउँदो साउन एक गतेदेखि अस्पतालमा २४ सै घण्टा उपचार र बर्थिङ सेवा प्रदान गरिने उहाँले बताउनुभयो । त्यस्तै प्रधानमन्त्री ओलीले माई नगरपालिका–२ दानाबारीमा निर्मित १५ शय्याको माई नगर अस्पतालको पनि उद्घाटन गर्नुभएको छ ।

आर्थिक वर्ष २०७७र७८ सालदेखि निर्माण शुरु भएको अस्पताल सङ्घीय सरकारको सहयोगमा १० करोड ७० लाख २४ हजार खर्चेर बनेको मेयर खम्बासिंह लिम्बूले बताउनुभयो । नवनिर्मित अस्पताल भवनबाट आजैदेखि स्वास्थ्य सेवा शुरु भएको छ ।

बिहान गृह जिल्ला झापा पुग्नुभएका प्रधानमन्त्री ओलीलाई चन्द्रगढी विमानस्थलमा एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राई, मुख्यमन्त्री हिक्मतकुमार कार्कीलगायतले स्वागत गर्नुभएको थियो । उहाँ भोलि काठमाण्डौ फर्कने कार्यक्रम छ ।

प्रकाशित मिति: २८ असार २०८२, शनिबार  २० : ३७  बजे