बाढीको त्रास: कञ्चनपुरको लठ्ठागौरीका बासिन्दा त्रिपाल टाँगेर बस्न बाध्य

काठमाडौं, २८ असार ।  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ लठ्ठागौरीको वनहरा नदी तटीय क्षेत्रका बासिन्दा वर्षेनि आउने बाढीको त्रासले वर्षात् शुरू हुनासाथ वन क्षेत्रमा त्रिपाल टाँगेर बस्न बाध्य छन् ।

स्थानीय टेकबहादुर सलामी थापा मगर गएको सात वर्षदेखि वर्षात शुरू भएलगत्तै नजिकैको सामुदायिक वनमा त्रिपाल टाँगेर परिवारसहित बस्दै आउनुभएको छ ।

बाढीले घर डुबाउने भएकाले उहाँले खाद्यान्न, ओढ्ने–ओछ्याउने सामान, बालबालिका र चौपाया लिएर समयमै सुरक्षित ठाउँ सर्नुहुन्छ ।

उहाँको पहिलेको थातथलो डोटीको जोरायलमा घर पहिरोले बगाएपछि उहाँ कञ्चनपुर आइपुग्नुभएको हो । घर पहिरोले लगेपछि आफु पूर्ण रूपमा घरवारविहीन भएको उहाँको भनाइ छ ।

बस्तीका थप ६ परिवारको अवस्था पनि त्यस्तै छ । सबैले वर्षात् शुरू हुनु अगाडि नै वन क्षेत्रमा सरेर अस्थायी त्रिपालमा बस्ने गरेका छन् ।

प्रकाशित मिति: २८ असार २०८२, शनिबार  १० : ३४  बजे