डिजिटल साझेदारी विस्तार गर्न भेटवार्ता

जेनेभा, २७ असार । सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ र सिङ्गापुर सरकारका डिजिटल विकास तथा स्वास्थ्य राज्यमन्त्री रहायू महजामबिच द्विपक्षीय भेटवार्ता भएको छ । मन्त्री गुरुङ स्विट्जरल्याण्डको जेनेभामा आयोजित विश्व सूचना समाज शिखर सम्मेलनको उच्चस्तरीय कार्यक्रममा रहँदा उहाँहरूबिच द्विपक्षीय भेटवार्ता भएको हो ।

भेटवार्तामा नेपाल र सिङ्गापुरबीच ई–शासन, साइबर सुरक्षा, डिजिटल नवप्रवर्तन, फिनटेक तथा हरित डिजिटल पूर्वाधारमा सहकार्य गहिराउने विषयमा विशेष छलफल भएको थियो । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत रहनुभएका मन्त्री गुरुङले हाल डिजिटल नेपाल फ्रेमवर्क र आईटी भिजन २०५० अन्तर्गत नेपालको डिजिटल रूपान्तरण अभियानको नेतृत्व गरिरहनु भएको छ ।

उहाँको नेतृत्वमा नेपालले समावेशी डिजिटल सार्वजनिक पूर्वाधार, कृत्रिम बुद्धिमत्ता (एआई) को तयारी, क्लाउड कम्प्युटिङ, बीपीओ प्रवर्द्धन र सुरक्षित पोस्ट–क्वान्टम प्रविधितर्फ उल्लेखनीय प्रगति गरिरहेको छ । सिङ्गापुरका राज्यमन्त्री रहायू महजामले डिजिटल समावेशिता, अनलाइन सुरक्षा, युवाको सशक्तीकरण र महिला सशक्तीकरणका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउनु भएको छ ।

उहाँले नेपालका डिजिटल आकांक्षालाई स्वागत गर्दै सहकार्यका प्रस्तावहरूलाई सकारात्मक रूपमा ग्रहण गर्नुभएको छ। दुवै पक्षबीच स्मार्ट सार्वजनिक सेवा प्रवाह, सीप विकास, फिनटेक नवप्रवर्तन र दिगो क्लाउड पूर्वाधार विकासमा रणनीतिक सहकार्यबारे समेत छलफल भएको छ ।

मन्त्री गुरुङले नेपाल सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सिङ्गापुरका प्रधानमन्त्रीलाई नेपालको उच्चस्तरीय भ्रमणका लागि औपचारिक निमन्त्रणासमेत दिनुभएको जानकारी सञ्चार मन्त्रीको सचिवालयले दिएको छ ।

यस भेटवार्ताले नेपाललाई अन्तर्राष्ट्रिय डिजिटल प्रविधि विकासमा अग्रसर मुलुकको रुपमा पुनः स्थापित गर्नुका साथै नेपाल–सिङ्गापुर सम्बन्धलाई समावेशी र दिगो प्रविधिमार्फत सुदृढ बनाउने आधार तय गरेको छ । कार्यक्रममा डा. शालिग्राम पराजुलीसहित नेपालका सूचना प्रविधिसँग सम्बन्धित संस्थाका प्रतिनिधिहरू सहभागी हुनुहुन्छ ।

प्रकाशित मिति: २७ असार २०८२, शुक्रबार  १६ : ५५  बजे