रसुवा, २७ असार । रसुवा भन्सार कार्यालय नजिक निमार्णाधीन सुख्खा बन्दरगाहमा फसेका विद्युतीय सवारी साधन र केहि कन्टेनरहरु सुरक्षित स्थानमा सारिन थालिएको छ ।
बाढीले क्षति पुर्याउन नसकेका विद्युतीय सवारी साधन र केहि कन्टेनरहरुमा रहेको मालसामानलाई लोडर तथा जेसिबी प्रयोग गरी सुरक्षित स्थानमा सारिएको हो ।
जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार यार्ड क्षेत्र वरपर थुप्रिएको करिब सय मिटर बालुवा हटाइएको र खोज तथा उद्धार कार्य अझै तीव्र बनाइएको जनाइएको छ । बाढीका कारण अवरुद्ध भएको सञ्चार र विद्युत सेवा सुचारु भएको छ ।
स्याफ्रुवेशी–रसुवागढी सडकखण्ड मर्मतका लागि सडक विभाग, विभिन्न जलविद्युत आयोजनाहरू र स्थानीय तहबीच समन्वय गरी हेभी इक्युपमेन्ट प्रयोग गरेर सडक पुनःनिर्माणको कार्य तीव्र पारिएको छ ।
बाढीपछि चीनतर्फको सिमासम्म आईपुगी अलपत्र परेका ९१ जना नेपाली नागरिकलाई चिनियाँ प्रशासनले केरुङमा सुरक्षित रूपमा राखेको जनाएको छ । उनीहरूलाई खानपिन, आवास, औषधी उपचार लगायत आवश्यक सेवा प्रदान गरिएको र दुवै देशका प्रशासनबीच निरन्तर समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बताउनुभयो ।
भोटेकोशी तथा त्रिशुली नदी किनारमा बेपत्ता भएका व्यक्तिहरूको खोजी कार्यमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागको संयुक्त टोली परिचालित गरिएको छ ।
चीनको लेन्दे खोला बाट असार २४ गते बिहान करिब ३ बजे आएको भीषण बाढीले रसुवागढी नाकामा ठूलो क्षति पु¥याए पछि जिल्ला प्रशासन कार्यालय रसुवाले असार २६ गते साँझ सार्वजनिक गरेको पछिल्लो प्रेस विज्ञप्तिमा उद्धार, राहत तथा पूर्वाधार पुनःस्थापनाको कार्य तीव्र गतिमा भइरहेको जानकारी गराएको हो ।
प्रतिक्रिया