काठमाडौं, २२ असार । प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको बैठकमा रासायनिक मल वितरणको जिम्मेवारी स्थानीय तहलाई दिनुपर्ने बताएका छन् । सहकारीमार्फत हुने मल वितरणमा शक्ति र पहुँचको आधारमा राजनीतिक पक्षपात हुने गरेको कारण मल वितरणको जिम्मेवारी स्थानीय तहको कृषि शाखालाई दिनुपर्ने उनीहरुको भनाइ छ ।
बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद महेन्द्रबहादुर शाहीले सहकारीमार्फत हुने मल वितरण राजनीतिक पूर्वाग्रहपूर्ण हुने गरेको बताउनुभयो । उहाँले सहकारी जुन पार्टीको त्यही पार्टीका कार्यकर्तालाई मल वितरण गर्ने गरेको टिप्पणी गर्दै उहाँले मल वितरणको जिम्मेवारी स्थानीय सरकारलाई दिनुपर्ने बताउनुभयो ।
नेपाली काँग्रेसकी सांसद सीता मिजारले मलको समानुपातिक वितरण भए/नभएको अनुगमन गर्न जरुरी रहेको बताउनु भयो । उहाँले मल वितरणको मापदण्ड कायम गरिए नगरिएको अनुगमन गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो । जनता समाजवादी पार्टी, नेपालकी सांसद रेखा यादवले कृषिमा आवश्यक लगानी गर्न असफल भएको भन्दै सरकारको आलोचना गर्नुभयो ।
उहाँले सरकारले युवाहरुलाई वैज्ञानिक कृषि खेती गर्ने प्रोत्साहन गर्नुपर्नेमा विदेश जान प्रोत्साहन गरिरहेको आरोप लगाउनुभयो । नेकपा (एमाले) का सांसद हेमराज राईले सरकारको मलसम्बन्धी नीति अस्पष्ट र अव्यवस्थित भएको भएको कारण मल आयात र वितरणम समस्या परेको टिप्पणी गर्नुभयो । मल वितरण प्रक्रियाको निगरानीको लागि नियामक निकायको स्थापना गर्नुपर्नेमा उहाँको जोड छ ।
प्रतिक्रिया