संघीयता र गणतन्त्र ल्याउने व्यक्ति गिरिजाप्रसाद कोइराला हुन् : सभापति देउवा

काठमाडौं, २१ असार । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गिरिजाप्रसाद कोइराला नभएको भए नेपालमा संघीय गणतन्त्र नआउने बताउनुभएको छ । आज काठमाडौंमा स्व. गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले कोइराला र आफूबीचमा झगडा पनि भएको र पार्टीबाट आफूलाई निकालेपछि नयाँ पार्टी खोलेको पनि बताउनुभयो । पार्टीबाट निकालेपछि र प्रधानमन्त्री खोसेपछि आफूले गिरिजा र तत्कालीन राजा ज्ञानेन्द्रलाई गिरिजा र ज्ञानेन्द्र एउटै हुन् भन्ने गरेको बताउनुभयो ।

स्व. कोइराला लडाकु व्यक्ति भएको स्मरण गर्दै गिरिजाप्रसाद कोइराला नभएको भए गणतन्त्र ल्याउन कसैले पनि सोच्न नसक्ने स्थिति रहेको बताउनुभयो । गणतन्त्र ल्याउने पहिलो श्रेय गिरिजाप्रसाद कोइरालालाई जाने बताउनुभयो ।

सभापति देउवाले भन्नुभयो, ‘स्व. गिरिजाबाबु र मेरो बीचमा झगडा पनि भएकै हो । सबैलाई थाहा छ । उहाँले पार्टीबाट निकालिदिनु भयो । मैले अर्को पार्टी खोलेँ फेरि । त्यसकारण अनि मैले एक पटक के भनेको थिएँ भने राजाले मलाई खोस्यो, अनि मैले गिरिजा र ज्ञानेन्द्र एउटै हुन् भनेको थिएँ । एउटाले पार्टीबाट निकाल्यो, अर्कोले प्रधानमन्त्रीबाट निकाल्यो भनेर त्यस्तो हाम्रो सम्बन्ध हो । राजाले शाही आयोग गठन गरेर मलाई जेल हाल्यो । थुनेपछि भेट्न आउनुभएको थियो, गिरिजाबाबु । पार्टीमा एक भएर काम गर्यौं । गिरिजाबाबु धेरै लडाकु व्यक्ति हो । उहाँ नभएको भए आज गणतन्त्र आउने थिएन । त्यस्तो आँटिलो व्यक्ति हो । हिम्मतिलो व्यक्ति हो ।’

सभापति देउवाले नेपालको इतिहासमा गणतन्त्र स्थापनाका लागि हिम्मत गर्ने र त्यसका लागि लडेर जनमत सिर्जना गर्नसक्ने व्यक्ति गिरिजाप्रसाद कोइराला भएको बताउनुभयो । गिरिजाप्रसाद कोइराला नभएको भए संघीयता पनि नआउने बताउनुभयो ।

प्रकाशित मिति: २१ असार २०८२, शनिबार  १८ : ५३  बजे