गृहमन्त्री लेखकद्वारा जिप्रका बैतडीको निरीक्षण

बैतडी, २१ असार । गृहमन्त्री रमेश लेखकले जिल्ला प्रहरी कार्यालयमा निरीक्षण गर्नुभएको छ । लेखकले आज बिहान जिप्रकाको अनुगमन तथा निरीक्षण गर्नुभएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो ।

निरीक्षणका क्रममा लेखकले जिप्रकालगायत जिल्लाका अन्य प्रहरी युनिट र शान्ति सुरक्षाका अवस्थामा जानकारी लिनुभएको छ । गृहमन्त्री लेखकलाई भवन अभावलगायत विषयमा जानकारी गराइएको प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले बताउनुभयो ।

उहाँले भन्नुभयो,‘जिप्रकामा महिला बालबालिका सेवा केन्द्र र व्यारेक भवन निर्माण आवश्यक बजेट पहलका लागि आग्रह गरेका छौँ ।’ जवाफमा गृहमन्त्रीले आफ्नो कार्यकालमा भवन निर्माण बजेटको व्यवस्था गर्ने बताउनुभएको छ । गृहमन्त्री लेखकले जिल्लाका समग्र शान्ति सुरक्षाका बारेमा पनि जानकारी लिनुभएको थियो ।

प्रकाशित मिति: २१ असार २०८२, शनिबार  १५ : २०  बजे