काठमाडौं, २१ असार । अमेरिकाको टेक्सासमा बाढीका कारण १३ जनाको ज्यान गएको छ । ठूलो पानी परेपछि ग्वाडालुपे नदीमा बाढी आएको हो । बाढीका कारण कम्तीमा १३ जनाको ज्यान गएको बीबीसीले जनाएको छ । स्थानीय ख्रीष्टियन शिविर ‘क्याम्प मिस्टिक’ बाट २० जनाभन्दा धेरै बालबालिका बेपत्ता भएका छन् ।
टेक्सासका उप–गभर्नर ड्यान प्याट्रिकका अनुसार शिविरमा सात सय ५० को सङ्ख्यामा बालबालिका रहेका र तीमध्ये अवस्था थाहा हुन नसकेका बालबालिकाको खोजी भइरहेको छ । शिविरबाट उद्धार गरिएका बालबालिकालाई हेलिकप्टरमार्फत सुरक्षित ठाउँमा सारिएको छ । अन्य वरपरका शिविरका बालबालिका सुरक्षित रहेका छन् ।
कर्भिल शहरका मेयर जो हेयरिङ जुनियरले आपतकालीन विपद् अवस्थाको घोषणा गर्नुभएको छ । टेक्सासका गभर्नर ग्रेग एबटले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत सबै उपलब्ध स्रोत परिचालन गरिएको जानकारी दिनुभएको छ । उहाँले राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पनि समन्वय गरिएको र आवश्यक परेको जुनसुकै सहयोग गर्न प्रतिबद्धता जनाउनुभएको खबरमा उल्लेख छ ।
प्रतिक्रिया