नागरिक उन्मुक्ति पार्टीद्वारा समर्थन फिर्ता

धनगढी, २० असार । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज बसेको संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । मुख्यमन्त्री कमलबहादुर शाहले उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई हिजो पदबाट बर्खास्त गर्नुभएको थियो ।

आफ्नो पार्टीको मन्त्री हटाइएपछि नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने निर्णय गरेको नागरिक उन्मुक्ति पार्टीको संसदीय दलका नेता घनश्याम चौधरीले बताउनुभयो ।

नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि सरकारको बहुमत कायमै छ । नेपाली कांग्रेसका १८ र नेकपा (एमाले) का ११ गरी २९ प्रदेश सभा सदस्यको साथ उहाँलाई छ । जम्मा ५३ प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा बहुमत जुटाउन २७ जनाको समर्थन आवश्यक पर्छ ।

प्रकाशित मिति: २० असार २०८२, शुक्रबार  १५ : १४  बजे