सरकारले बाल श्रमिकको आधिकारिक तथ्याङ्क अध्ययन गर्ने

काठमाडौं, २० असार । सरकारले नेपालमा रहेका बाल श्रमिकहरुको आधिकारिक तथ्याङ्क अध्ययन गर्ने भएको छ । आज राष्ट्रिय तथ्याङ्क कार्यालयले एक कार्यक्रम आयोजना गर्दै यसबारेमा जानकारी गराएको हो । कार्यक्रममा बोल्दै प्रमुख तथ्याङ्क अधिकारी मधुसुदन बुर्लाकोटीले यस वर्ष कार्यालयले बालश्रमको अध्ययन गरेर तथ्याङ्क सार्वजनिक गर्ने बताउनुभयो ।

उहाँले श्रम क्षेत्रमा बालश्रम कति छ भन्ने कुराको अध्ययन हुने र त्यसमा पनि नेपालकै बालश्रमीक र नेपालमा आएर काम गर्ने भारतीय बाल श्रमीकहरुको छुट्टा छुट्टै तथ्यांक निकाल्ने बताउनुभयो । बालश्रमलाई छुट्याउन ढिलो भइसकेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो,‘बालश्रममा धेरै संख्या घरको काम कारबाही गर्नेमा छन् । तीन महिनाभन्दा कम अवधि काम गरेको मान्छेहरु छन् । स्कुल बिदा भएको बेलामा घरमा काम गर्ने मान्छेहरु छन् । उनीहरुले पैसा नै पाउँदैनन् । यसपालि हामी श्रमको तथ्यांक निकाल्दै छौँ । त्यसले श्रम क्षेत्रमा बालश्रम कति छ ? त्यसलाई हामी छुट्याएर निकाल्छौँ । नेपालकै मान्छे बालश्रम कति छन्, भरतबाट आएका कति छन् । बालश्रमलाई छुट्याउन ढिलो भइसकेको छ ।’

उहाँले घरमा सघाएको कुरालाई बालश्रम ठान्न नहुने बताउनुभयो । आर्थिक उपार्जनकै लागि काम गरेकोलाई मात्रै श्रम भन्नुपर्ने बताउनुभयो ।

प्रकाशित मिति: २० असार २०८२, शुक्रबार  १५ : ०८  बजे