मलाई स्पष्टीकरण सोधिएको कुरा सत्य होइन : झाँक्री

काठमाडौं, १९ असार । नेकपा (एकीकृत समाजवादी) का नेतृ रामकुमारी झाँक्रीले आफूलाई पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध बोलेको भन्दै स्पष्टीकरण सोधिएको कुरामा सत्यता नरहेको बताउनुभएको छ । पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा सञ्चारकर्मीहसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले आफूले पार्टीका अध्यक्षविरुद्ध बोलेको भन्दै स्पष्टीकरण सोधिएको हल्ला निराधार रहेको बताउनुभयो । अहिलेसम्म कुनै स्पष्टीकरण नसोधिएको र पार्टीका ठुलो केही नेताहरुले टेलिभिजनबाट स्पष्टीकरण सोधेको भनेर हल्ला फिँजाएको बतउनुभयो ।

बुटवलमा पार्टीसम्वद्ध युवा संगठनले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा झाँक्रीले ‘मरेको सिनो काँधमा बोकेर हिँड्न सकिँदैन, अध्यक्ष फेरौं’ भन्ने अभिव्यक्ति दिनुभएको थियो । झाँक्रीको यस्तो अभिव्यक्ति आएपछि पार्टी महासचिव घनश्याम भुसालले जथाभावी अभिव्यक्ति नदिन ध्यानाकर्षण गराउनुभएको थियो ।

स्पष्टीकरण सोधिएको भन्ने समाचार आएको तर आफूलाई नसोधिएको बारेमा पार्टीले गरेको निर्णय बुझ्न आफू नै सचिवालय बैठकमा नेताहरुसँग निवेदन लिएर आएको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘केही शक्तिशाली पदाधिकारीहरुले मिडियामा स्पष्टीकरण सोध्नुभएको रहेछ । मलाई त सोधिएको छैन । टेलिभिजनमा स्पष्टीकरण सोधिन्छ, पार्टीबाट निकालिन्छ भन्ने सुनेको थिएँ, मैले बोलेको कन्टेनको हिसावले, १५ गते यसबारे कुनै क्रिया, प्रतिक्रिया नदिनु भनेर निर्देशन पनि जारी गरेको थियो । त्यो निर्देशनपछि उहाँहरुलाई प्रोत्साहन गरेको जस्तो बोलिरहनुभएको छ । पार्टीलाई घाटा नहोस् भनेर सचिवालय बैठकमै दिन्छु त्यसका लागि बोलाउनुस् भनेर निवेदन दिन आएकी हुँ ।’

प्रकाशित मिति: १९ असार २०८२, बिहिबार  १३ : १६  बजे