बैंकिङ प्रणालीबाट फेरि ६० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौं, १८ असार । राष्ट्र बैंकले आज ६० अर्ब निक्षेप खिच्दैछ । निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैँकले ६० अर्ब निक्षेप खिच्न लागेको हो । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि चालु आर्थिक वर्ष २०८१(८२ सुरुवातबाट नै राष्ट्र बैँकले निरन्तर तरलता खिच्दै आएको छ ।

अहिले कुल निक्षेप ७० खर्ब ५८ अर्ब माथि पुगेको छ । निक्षेप बढेको बढ्यै गर्दा अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको हो । ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुने छ भने आज बोलकबोल हुने निक्षेप सङ्कलन उपकरणको सावाँ तथा ब्याज २०८२ भदौ १८ गते भुक्तानी हुने राष्ट्र बैँकले जानकारी दिएको छ ।

बोल गर्न सकिने रकम न्यूनतम १० करोड रुपियाँ र अधिकतम ५ करोड रुपियाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ । बोलकबोलमा राष्ट्र बैँकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैँक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने छन् । सामान्यता २१ दिनका लागि राष्ट्र बैँकले बोलपत्र आह्वान गर्ने गरेपनि पछिल्लो समय भने लामो समयका लागि बजारबाट पैसा खिच्न थालेको छ ।

प्रकाशित मिति: १८ असार २०८२, बुधबार  १८ : ३१  बजे