काठमाडौं, १८ असार । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यो वर्ष ६० हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण पुष्टि हुन सक्ने आँकलन गरेको छ । महाशाखाका अन्तर्गतको किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले यो वर्ष ६० हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण पुष्टि हुने आँकलन गरिएको जानकारी दिनुभयो ।
डेङ्गु फैलने समय आएकोले जति बेला पनि जुनसुकै ठाउँमा सङ्क्रमण तीव्र गतिमा फैलिन सक्ने हुँदा सचेत रहन आग्रह गर्नुभयो । साउनदेखि कात्तिक अन्तिमसम्म अत्यधिक मात्रमा डेङ्गु सङ्क्रमण बढ्ने उच्च जोखिम छ । उहाँका अनुसार हालसम्म ७३ जिल्लाबाट १६ सयको हारहारीमा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ ।
बिरामीमा लक्षण नदेखिने, डेङ्गु परीक्षण नहुँदा, परीक्षण भए पनि रिपोर्ट नदिने कारणले डेङ्गु सङ्क्रमणको तथ्याङ्क कम देखिएको उहाँको भनाइ छ । ४० देखि ८० प्रतिशत बिरामी उपचारको दायरामा नआउने गरेको उहाँले सुनाउनुभयो ।उहाँका अनुसार १० हजारको हाराहारीमा डेङ्गुका बिरामी समाजमा छन् ।
उहाँले भन्नुभयो,‘तथ्याङ्कमा डेङ्गु सङ्क्रमण कम देखिए पनि समाजमा १० हजारभन्दा बढी बिरामी उपचारको दायरामा नआएको हुँदा समाजमा डेङ्गु सङ्क्रमण फैलिने सम्भावना उच्च छ ।’ डा. दाहालले डेङ्गु बढ्ने अनुमान गरी कार्ययोजना तथा प्रदेशसँग समन्वय गरी डेङ्गु नियन्त्रण गर्ने तयारी गरेको बताउनुभयो ।
यो आर्थिक वर्षका लागि डेङ्गु नियन्त्रण गर्न करिब १० करोड बजेट विनियोजन गरेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार डेङ्गु रोकथाम तथा नियन्त्रणका लागि पाँच वर्षीय बहुनिकाय योजना तयार भई स्वीकृतिका लागि अन्तिम अवस्थामा छ ।
डेङ्गुबाट हुने मृत्युको जोखिमलाई कम गर्न निजी तथा सरकारी अस्पतालका १७ सय बढी चिकित्सक तथा स्वास्थ्यकर्मी डेङ्गु रोगको राष्ट्रिय उपचार पद्धतिका बारेमा अभिमुखीकरण गरी अस्पताललाई तयारी अवस्थामा राखेको उहाँको दाबी छ । महाशाखाले डेङ्गु रोकथाम तथा नियन्त्रण गर्न लामखुट्टेको वासस्थान खोजी नष्ट गर्ने अभियानलाई चुस्त दुरुस्त बनाउने काम अगाडि बढाएको उहाँले जानकारी दिनुभयो ।
डा. दाहालका अनुसार डेङ्गु परीक्षणका लागि यो आर्थिक वर्षमा ५७ हजार किट प्रदेश तथा स्थानीय तहमा वितरण गरिसकेको छ । हाल ३० हजार किट प्रदेशमा पठाई सकिएको र २५ हजार किट स्वास्थ्य सेवा विभागमा मौज्दात रहेको उहाँको भनाइ छ । डेङ्गु नियन्त्रण गर्न व्यक्ति स्वयं पनि जिम्मेवार भएकाले डेङ्गु नियन्त्रण गर्ने उपाय अपनाउन उहाँले सबैलाई आग्रह गर्नुभयो ।
प्रतिक्रिया