काठमाडौं, १८ असार । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आसन्न विधान महाधिवेशनका लागि केन्द्रित हुन आग्रह गर्नुभएको छ । कोशी र मधेश प्रदेशका इन्चार्ज, प्रदेश कमिटीका अध्यक्ष तथा अन्तर्गत जिल्ला कमिटीका अध्यक्ष र पदाधिकारीहरूसँगको बैठकलाई भर्चुअल सम्बोधन गर्दै पोखरेलले अहिलेदेखि नै नेतृत्वका सन्दर्भमा पक्ष र विपक्षमा धार सिर्जना गर्ने प्रयास हुन थालेको भन्दै नीति र विधि निर्माणको काममा केन्द्रित हुन निर्देश गर्नुभयो ।
पोखरेलले भन्नुभयो,‘जतिबेला जे काम गर्नुपर्ने हो, त्यसैमा केन्द्रित हुनुपर्छ । राष्ट्रिय महाधिवेशनको मिति निर्धारण भइनसकेको अवस्थामा पार्टीलाई कमजोर बनाउने गरी चर्चा र टिकाटिप्पणी सुरू भएका छन् । यसतर्फ तपाईँहरू सचेत बन्नुपर्छ ।’ उहाँले थप्नुभयो,‘यतिबेला पार्टीले अगाडि सारेको मिसन–२०८४ सफल बनाउन एकताबद्ध नेतृत्व निर्माण आवश्यक छ । नेतृत्वको विषय पनि पार्टीले एकेताबद्ध प्रक्रियाबाट टुंगो लगाउँछ ।’
अहिले राष्ट्रिय महाधिवेशन नभएको बेला नेतृत्वका विषयमा चर्चारपरिचर्चा आवश्यक छैन । पुराना कार्यकर्ता, पार्टी प्रवेश प्रक्रियाबाट पार्टीमा जोडिएका र जनसंगठनका अधिवेशनपछि कमिटीबाट बाहिरिएका कार्यकर्तालाई व्यवस्थापन गरी भूगोलमा क्रियाशील बनाउने विषयमा गृहकार्यका लागि उनले प्रदेश तथा जिल्ला कमिटीको ध्यानाकर्षण गराएका छन् ।
विधान महाधिवेशनमा प्रस्तुत गरिने सङ्गठनात्मक प्रतिवेदनको तयारीका लागि असार मसान्तभित्र लिखित प्रतिवेदन पठाउन महासचिवले प्रदेश र जिल्ला कमिटीहरूलाई निर्देशन दिनुभयो । एमालेको दोस्रो विधान महाधिवेशन भदौ २०/२२ गते ललितपुरको गोदावरीमा हुँदैछ ।
केन्द्रीय सचिवालयको बैठकले राजनीतिक प्रतिवेदन प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली, विधान संशोधन प्रस्ताव उपाध्यक्ष विष्णुप्रसाद पौडेल र सङ्गठनात्मक प्रतिवेदनको जिम्मेवारी महासचिव पोखरेललाई दिएको छ । बैठकमा दुवै प्रदेशका इन्चार्ज, अध्यक्ष र जिल्ला कमिटीका अध्यक्ष तथा पदाधिकारीहरूले आ९आफ्ना जिल्लाका कामको रिपोर्टिङ गरेका थिए ।
प्रतिक्रिया