भोलि उपत्यका बन्द गर्ने राजावादीको घोषणा

काठमाडौं, १८ जेठ । राजसंस्था पुनर्स्थापनाको माग गर्दै आन्दोलनरत राजावादी समूहहरूले आइतबारको प्रदर्शनमा सरकारी दमन भएको आरोप लगाउँदै भोलि ९सोमबार, जेठ १९ गते० काठमाडौं उपत्यका बन्दको आह्वान गरेका छन्।

संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आइतबार साँझ एक विज्ञप्ति जारी गरी उक्त घोषणा गरेका हुन्।

सरकारले आफूहरूको शान्तिपूर्ण आन्दोलनमाथि बर्बर दमन गरेको र आन्दोलनको स्वरूप परिवर्तन गर्न बाध्य भएको जिकिर गर्दै समितिले बन्दको घोषणा गरेको हो।

“सरकारको बर्बर दमनको विरोध गर्दै हामी आन्दोलनको स्वरूप परिवर्तन गर्न बाध्य भएका छौं। यसै क्रममा भोलि जेठ १९ गते हामीले उपत्यका बन्दको घोषणा गरेका छौं,” सुवेदीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

आइतबार काठमाडौंमा भएको प्रदर्शनका क्रममा प्रहरीले राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका सांसद दीपक सिंह लगायत दर्जनौं प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको थियो।

राजावादी समूहले प्रहरीले उनीहरूमाथि दमन गरेको र विशेषगरी अध्यक्ष थापालाई ‘अमानवीय तवरले’ पक्राउ गरेको आरोप लगाएको छ।

“शान्तिपूर्ण आन्दोलनकै क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले जसरी अमानवीय तवरले पक्राउ गर्‍यो त्यसको हामी निन्दा गर्दछौं,” विज्ञप्तिमा उल्लेख छ।

समितिले उपत्यका बन्दको क्रममा आ-आफ्नो टोल र चोकमा उपस्थित भई सक्रिय भूमिका निर्वाह गर्न आन्दोलनमा सहभागीहरूलाई आह्वानसमेत गरेको छ।

प्रकाशित मिति: १९ जेष्ठ २०८२, आइतबार  २० : ५७  बजे