रातो मत्स्येन्द्रनाथको भोटो देखाइयो

काठमाडौं, १८ जेठ । ललितपुरको जावलाखेलमा रातो मत्स्येन्द्रनाथ रथयात्राको अन्तिम दिन भोटो देखाइएको छ । मत्स्येन्द्रनाथको रथ जावलाखेल पुर्‍याइएको चौथो दिन भोटो देखाउने परम्परा अनुसार आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा भोटो देखाइएको हो ।

भोटो जात्रा लिच्छवीकालदेखि मनाउने गरिएको विश्वास छ । कपडाको थैलीमा सिलबन्दी गरेर राखिएको मणि जडित भोटो अवलोकन गर्न जावलाखेलमा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको छ । गुठी संस्थानका प्रतिनिधिले भोटो देखाएका थिए । कार्यक्रममा राष्ट्रपति पौडेलसहितका उच्च पदस्थ व्यक्तिले टीका, प्रसाद ग्रहण गर्नुभयो ।

मत्स्येन्द्रनाथलाई वर्षा र सहकालका देवताका रूपमा पुजिन्छ । अब रातो मत्स्येन्द्रनाथलाई खटमा राखेर बुङ्गमती लगिनेछ भने मीननाथलाई रथमा राखेर टङ्गल लगिनेछ । त्यससँगै यस वर्षको रातो मत्स्येन्द्रनाथको रथयात्रा सकिनेछ ।

भोटो जात्रालाई झन्डै ८०० वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । पछिल्लो समय गुठी संस्थान ललितपुरका प्रतिनिधिले राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाउने जात्रा गरिँदै आएको छ । भोटो जात्राको अवसरमा सरकारले आज काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

प्रकाशित मिति: १९ जेष्ठ २०८२, आइतबार  २० : ५२  बजे