काठमाडौं, १८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेश सरकारको महत्त्वाकाङ्क्षी तथा ठूलो लगानीका ६४ वटा पक्की सडक योजनाको शिलान्यास गर्नुभएको छ ।
मधेश प्रदेशअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयले आज जनकपुरधाममा आयोजना गरेको विशेष समाहरोमा प्रधानमन्त्री ओलीले डिजिटल प्रविधिमार्फत एकैपटक ६४ वटा आयोजनाको शिलान्यास गर्नुभएको हो ।
भौतिक पूर्वाधार मन्त्रालयका अनुसार अब मधेश प्रदेशअन्तर्गत ८ जिल्लाका ६४ वटा प्रादेशिक निर्वाचन क्षेत्रमा ५ किलोमिटरका दरले ३ सय २० किलोमिटर लम्बाइको पक्की सडक निर्माण हुनेछ । ३ वर्षभित्र सम्पन्न गर्ने कालोपत्रसहितको पक्की सडक निर्माणका लागि १२ अर्ब ७० करोड रुपैयाँ खर्च हुने प्रदेश सरकारले जनाएको छ ।
मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवले स्रोत सुनिश्चित भई पूर्वाधार कार्यालयमार्फत ठेक्का प्रक्रिया सम्पन्न भइसकेको भन्दै अब सडक निर्माणको कामले तीव्रता पाउने बताउनुभयो । निर्माण हुने सडकको चौडाइ साढे ५ देखि ७ मिटर हुनेछ । सडकसँगै प्रदेशका ६४ वटै निर्वाचन क्षेत्रमा १र१ वटा पक्की पुल निर्माणका लागि प्रक्रिया शुरू भइसकेको मन्त्रालयले जनाएको छ ।
यो योजनाले मधेश प्रदेशमा सडक पहुँच अभावमा रहेका गाउँलाई यातायात सञ्जालमा जोड्ने, व्यापार–व्यवसाय प्रवर्द्धन गर्ने र स्थानीय उत्पादनलाई बजारसम्म लैजान सहयोग पर्याउने मन्त्री यादवले बताउनुभयो ।
प्रतिक्रिया