नोबेल अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

विराटनगर, १० साउन । कोरोना संक्रमित महिलाको नोबेल शिक्षण अस्पतालमा विराटनगरमा मृत्यु भएको छ । मंगलबार बिहान अस्पतालमा भर्ना भएकी इलामकी ३९ वर्षीय महिलाको मृत्यु भएको हो । मृतक महिलाको ठेगाना इलामको सूर्योदया नगरपालिका रहेको नोबेल अस्पतालका प्रबन्धक दिपेश राईले जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा उनको आज बिहान मृत्यु भएको हो । मृतक महिलालाई सात दिनअघिदेखि स्वास्थ्यमा समस्या थियो । श्वासप्रश्वासमा समस्या हुने र ज्वरो आउने समस्या बढेपछि सोमबार बिर्तामोडको बिर्तासीटी अस्पतालमा परीक्षण गरिएको थियो । परीक्षणका क्रममा कोरोना (कोभिड–१९) संक्रमण भएपछि थप उपचारका लागि विराटनगरको नोबेल अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा महिलाको मृत्यु भएपछि शवलाई प्रहरीको जिम्मा लगाइएको प्रबन्धक राईले जानकारी दिनुभयो।
कोशी प्रदेशमा पछिल्लो समय कोरोना संक्रमित देखिरहेका छन् । प्रदेश स्वास्य मन्त्रालयका अनुसार कोशी प्रदेशमा ८ जनालाई कोरोना संक्रमण देखिएको छ । संक्रमितमध्ये झापाका ४ जना र मोरङ तथा इलामका २–२ जना छन् ।

 

प्रकाशित मिति: १० असार २०८२, मंगलबार  १३ : ११  बजे