चन्द्रपुर, १० असार । जिल्लाका १० वटा पालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सार्वजनिक गरेका छन् । जिल्लाका १८ स्थानीय तहमध्ये चन्द्रपुर, गौर, राजदेवी, इशनाथ, गढीमाई, माधवनारायण, बौधीमाई, राजपुर, कटहरिया र गरुडा नगरपालिकाले नगरसभा सम्पन्न गरेका हुन् । जिल्लाको चन्द्रपुर नगरपालिकाले आगामी आवका लागि रु एक अर्ब २१ करोडभन्दा बढी बजेट प्रस्ताव गरेको छ ।
सोमबार चन्द्रनिगाहपुर बसेको नगरसभाको १५औँ अधिवेशनमा आगामी आवका लागि रु एक अर्ब २१ करोड ५९ लाख ५१ हजार छ सय ४० बजेट प्रस्ताव गरेको हो । अधिवेशनमा नगर उपप्रमुख जयमाला चौधरीले नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा नगरले विगत वर्षका अधुरा आयोजना सम्पन्न गर्नेमा जोड दिनुभयो । करिब रु छ करोडमा निर्माण भइरहेको शीतभण्डार आगामी वर्षभित्र सम्पन्न गर्नेगरी योजना ल्याइएको उहाँले जानकारी दिनुभयो ।
नगरलाई पूर्ण बालश्रममुक्त अभियान र बालविवाहमुक्त वडा घोषणा कार्यक्रमलाई प्रोत्साहन गरिने छ । नगरसभा बैठकमा मधेस प्रदेशका सांसद युवराज भट्टराईले विकासका काममा सबै जनप्रतिनिधि एकजुट भएर समन्वय र सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो । नगर क्षेत्रको विकासका लागि आवश्यक सहयोग र समन्वय गर्न आफू तयार रहेको बताउनुभयो । नगरप्रमुख सञ्जयकुमार काफ्लेले आगामी आवमा जनताका माग सम्बोधन हुनेगरी बजेट विनियोजन गरिने प्रतिबद्धता जनाउनुभयो ।
विकास, निर्माण, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रलाई समेटेर बजेट विनियोजन गरिने उहाँको भनाइ छ । नगरपालिकाले चालु आवमा रु एक अर्ब ४७ करोड ३६ लाख १८ हजार ८२३ विनियोजन गरेको थियो । उक्त बजेटको तुलनामा आगामी आवमा रु २५ करोड ७७ लाख कम विनियोजित भएको छ । जिल्लाका १८ स्थानीय तहमध्ये हालसम्म १० वटाले नगरसभा सम्पन्न गरेका छन् भने वृन्दावन, गुजरा, मौलापुर, देवाही गोनाही, फतुवा विजयपुर र परोहा नगरपालिका तथा दुर्गा भगवती र यमुनामाई गाउँपालिकाले अझै बजेट ल्याउन सकेका छैनन् ।
गत शनिबार गढीमाई नगरपालिकाले रु ५४ करोड ९१ लाख ७२ हजार १०८ को बजेट प्रस्तुत गरेको छ । आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै नगरप्रमुख श्यामप्रसाद यादवले कूल बजेटमध्ये पुँजीगततर्फ रु १९ करोड १५ लाख ४९ हजार र चालूतर्फ रु ३५ करोड ७६ लाख २३ हजार १०८ विनियोजन गरिएको जानकारी दिनुभयो । शनिबार इशनाथ नगरपालिकाले ११औँ नगरसभाको खुलासत्र सम्पन्न गरेको थियो ।
आव २०८२/८३ का लागि नगर उपप्रमुख प्रवेज आलमले रु ४९ करोड ६५ लाख ५२ हजार ४९७ को बजेट प्रस्तुत गर्नुभएको हो । राजपुर नगरपालिकाले रु ५७ करोड बजेट खर्च हुने अनुमानित बजेट नगरसभामा प्रस्तुत गरेको थियो । नगरप्रमुख डा. मोहम्मद राजिक आलमले सामाजिक विकास, पूर्वाधार विस्तार, शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राख्ने नीति तथा कार्यक्रममा प्रस्तुत गर्नुभयो ।
कटहरिया नगरपालिकाले आव २०८२र८३ का लागि रु ५४ करोड २५ लाख ५२ हजार ४७५ को अनुमानित बजेट प्रस्तुत गरेको छ । नगरसभामा नगरप्रमुख अजयप्रकाश जैयसवालले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगरभित्रका नागरिकको विभिन्न सङ्क्रमण तथा सबै प्रकारका रोग र विपद्बाट जीवनरक्षा गर्दै सहज र सुरक्षित जीवनयापन गर्ने वातावरण बनाइने बताउनुभयो ।
प्रतिक्रिया