इजरायल र इरान युद्धविरामका लागि सहमत भएको ट्रम्पको दाबी, पहिले इरान र १२ घण्टापछि इजरायलले आक्रमण रोक्ने

काठमाडौं, १० असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानबीच युद्धविराम हुने दाबी गरेका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘मलाई यो घोषणा गर्दैगर्दा खुसी महशुस भएको छ । इजरायल र इरानबीच एक पूर्ण युद्धविराम १२ घण्टामा । अर्थात् अबको ६ घण्टापछि लागू हुनेछ । पहिलो १२ घण्टाका लागि इरान तयार हुनेछ । र अर्को १२ घण्टामा इजरायलले हतियार बिसाउनेछ ।’
उनले दुवै देशका नेताहरुलाई धन्यवाद दिँदै १२ दिनदेखि चलिरहेको युद्ध समाप्त पार्नका लागि सहयोग गरेको उल्लेख गरेका छन् । साथै उनले यो युद्ध कैयौं वर्षसम्म चल्न सक्ने भन्दै पहिले कहिल्यै नदेखिएको मृत्यु र ध्वंस हुनेसक्ने पनि बताएका छन् ।

‘प्रधानमन्त्री नेतान्याहु, इजरायल र इरानका नागरिकलाई बधाई, जो मध्यपूर्वमा शान्तिको चाहना राखिरहेका थिए । यो विश्वका लागि एक महान दिन हो,’ उनले भनेका छन् । यस्तै एक देशले युद्धविरामको सुरुवात गरेपछि अर्कोले पनि कारबाही रोक्ने उनको भनाइ छ ।

रोयटर्स न्युज एजेन्सीका अनुसार कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले इरानलाई अमेरिकाको युद्धविरामको प्रस्ताव स्वीकार गर्नका लागि मनाएको हो । यो कुराकानी इरानी अधिकारीहरुसँग टेलिफोनमा भएको थियो । ट्रम्पले इजरायल पनि युद्धविरामका लागि तयार रहेको र यसका लागि कतारसँग इरानलाई मनाउन सहयोग मागेको बताएका छन् ।

इजरायलका प्रवास मामिलामन्त्री अमीचाई चिकलीले इजरायल र इरानबीच युद्धविरामको पुष्टि गरेका छन् । उनले सामाजिक सञ्जालमा एक पोष्ट लेख्दै इजरायली सैनिक, पाइलट, गुप्तचर निकायका अधिकारी र अन्य मानिसहरुलाई धन्यवाद दिएका छन् । चिकलीले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पनि ध्यवाद दिँदै भनेका छन्, ‘यो साहसिक निर्णय इतिहासमा विश्वास, साहस र नैतिक मुखरताका लागि याद गरिनेछ ।’
सीएनएनका अनुसार इजरायलका प्रधानमन्त्री नेतान्याहुले आफ्ना सुरक्षा परिषद्का सदस्यहरुसँग बैठक गरिरहेका छन् । यो बैठकमा रणनीतिक मामलाका मन्त्री रोन डर्मर, विदेशमन्त्री गिदोन सार, रक्षामन्त्री इजरायल कात्ज, शास पार्टीका प्रमुख आर्ये डेरी, राष्ट्रिय सुरक्षामन्त्री इतामार बेन–ग्विर र वित्तमन्त्री बेजालेल स्मोट्रिज सहभागी छन् ।
मंगलबार राति ट्रम्पले युद्धविरामको दाबी गरेका थिए । त्यसअघि इरानले कतारमा रहेको अमेरिकी सैन्य क्याम्पमा आक्रमण गरेको थियो ।

प्रकाशित मिति: १० असार २०८२, मंगलबार  ०६ : ४०  बजे