काठमाडौं, ९ असार । काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँमा राति ठूलो पानी परेको छ । काठमाण्डौ र आसपासमा अहिले पानी पर्न रोकिएको छ, अरु केही ठाउँमा भने परिरहेको छ ।
पछिल्लो ३ घण्टामा कपिलवस्तु, दाङ, नवलपरासी, पाल्पा, चितवन, गोरखा, उदयपुर, बारा, सिराहा, सप्तरी लगायतका ठाउँमा ठूलो पानी परेको छ ।
कपिलवस्तुको सुरई खोलालगायत अरु साना खोलामा आकस्मिक बहाव आउन सक्ने भएकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
मध्यरातको वर्षाले काठमाण्डौको विष्णुमती, बागमती र धोवीखोलामा ठूलो बाढी आए पनि अहिले घटेको छ । नदी किनारको बाटो भई यात्रा गर्ने र नदी तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।
यस्तै गोरखाको गोरखा एग्रोमेट वर्षामापन केन्द्रमा पनि ठूलो पानी परेकाले त्यस क्षेत्र भई बहने स–साना नदीमा जलसतह केही बढ्न सक्ने भएकाले आसपासका क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले भनेको छ । पानी परिरहेका अरु ठाउँका नदी, खोला आसपासमा पनि सावधानी अपनाउन महाशाखाको आग्रह छ ।
आज दिउँसो पनि कोशी, बागमती र गण्डकी प्रदेशका एकरदुई ठाउँमा भेलबाढी आउने गरी ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया