नवलपरासी, पाल्पा र रोल्पामा सडक अवरुद्ध

काठमाडौं, ७ असार । बाढी र पहिरोका कारण नवलपरासी, पाल्पा र रोल्पामा सडक अवरुद्ध रहेको प्रहरीले जनाएको छ । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको विनयी खोलामा बाढीले डाइभर्सन बगाएपछि सडक पूर्णरुपमा बन्द छ ।

यस्तै सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–२ सुरुङ मार्गमा पहिरोले सडक बन्द छ । घोराही रुकुम शहीद मार्गअन्तर्गत रोल्पाको त्रिवेणी गाउँपालिका–७ जङ्गडाँडामा पहिरोका कारण सडक अवरुद्ध भएको छ ।

पहिरोले अवरुद्ध भएको धनकुटाको रवि राके भेडेट सडकअन्तर्गत साँगुरीगढी गाउँपालिका ५, कालीगण्डकी करिडोरअन्तर्गत बुलिङटार गाउँपालिका १ बतासे डाँडा, बेनी जोमसोम सडक खण्डअन्तर्गत अन्नपूर्ण गाउँपालिका ३ रुप्सेमा पर्ने सडक एकतर्फी सञ्चालनमा आएको छ ।

त्यस्तै कालीगण्डकी करिडोरअन्तर्गत कालीगण्डकी गाउँपालिका ६ बर्लाबा र जुम्ला मुगु सडक खण्डअन्तर्गत सिंजा गाउपालिका २ चुलेलगाउँमा पहिरोले अवरुद्ध सडक एकतर्फ सञ्चालनमा भएको छ ।

बाढीले अवरुद्ध भएको भेरी करिडोरअन्तर्गत त्रिपुरासुन्दरी नगरपालिका १ छलघाटमा अवरुद्ध सडक पनि एकतर्फी सञ्चालनमा आएको छ ।

प्रकाशित मिति: ७ असार २०८२, शनिबार  १३ : ०७  बजे