प्रधानमन्त्रीबाट निर्माणाधीन कीर्तिपुर क्रिकेट रंगशालाको निरीक्षण

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित क्रिकेट मैदानमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको प्यारापेट र फ्लडलाइट जडान कार्यको स्थलगत निरीक्षण गर्नुभएको छ । प्रधानमन्त्री ओलीले कार्यभार सम्हालेपछि गत असार ३१ गते पहिलो निर्णयका रुपमा ३०० दिनभित्र उक्त क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरको प्यारापेट र फ्लडलाइट जडान गर्ने घोषणा गरी निर्माणका लागि उच्च प्राथमिकता दिँदै आउनुभएको थियो ।

प्रधानमन्त्री ओलीसँगै उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह, मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल कीर्तिपुर पुग्नुभएको थियो । प्रधानमन्त्री ओलीले निर्माण कार्यका प्रमुख चक्रवर्ती कंठससिहत संलग्न निर्माण व्यवसायीहरूसँग हालसम्मको कार्य प्रगतिबारे जानकारी लिनुभएको छ । प्रधानमन्त्री ओलीले गत वैशाख २२ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा डाकेर सम्बन्धित अधिकारी र व्यवसायीसँग कार्यप्रगतिबारे छलफल गरी आगामी दुई महिनाभित्र काम सक्न निर्देशन दिनुभएको थियो । प्यारापिट र फ्लडलाइट जडान कार्यका लागि फरक फरक ठेकेदार कम्पनीसँग क्रमशः गत पुस १९ र २२ गते सम्झौता भएको थियो ।

 

 

प्रकाशित मिति: २६ जेष्ठ २०८२, आइतबार  १७ : ५९  बजे