काठमाडौं, २५ जेठ । नेपालमा पहिलोपटक ट्रान्सजेण्डर समुदायका एक व्यक्तिको लिङ्ग परिवर्तन शल्यक्रिया (सेक्स चेन्ज अपरेसन) गरिएको छ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा नेपालमै पहिलोपटक उक्त शल्यक्रिया गरेको हो ।
अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘जनकपुर निवासी २५ वर्षिया ट्रान्सजेन्डरमा गरिएको यस सेक्स चेन्ज अपरेसनमा पुरुषको लिंगको तन्तुहरूलाई चाहिने मात्रामा उपयोग गरेर महिलाको जैनेन्द्रीय अंगको पुनर्निर्माण गरियो र यसले सो व्यक्तिलाई आफूले चाहेको लैंगिक पहिचान प्राप्त गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ ।’
विदेशी प्लाष्टिक सर्जन डा. अलरिजा हामीदियान जारोमीको नेतृत्वमा तथा प्लाष्टिक सर्जरी विभागीय प्रमुख प्रा.डा. जयनमान श्रेष्ठको संयोजकत्वमा सम्पन्न भएको हो । अप्रेशनहरुमा सो विभागका सम्पूर्ण प्लाष्टिक सर्जनहरू प्रा.डा. ईश्वर लोहनी, डा. संगम रायमाझी डा. समीत शर्मा, डा. विकेश राजभण्डारी डा. हिमालय निरौला तथा रेजिडेन्ट डाक्टरहरू डा. अनुप थापा थिए ।
त्यस्तै डा. सुदिप पण्डित, डा. आशिष अधिकारी, डा. नोभेल, डा. ईशा, डा. अस्विनको सहभागिता थियो तथा एनेस्थेसियामा डा. मेघा कोइराला तथा डा. पंकज जोशीको टीमले सहयोग गरेका थिए । अबदेखि यस अस्पतालमा ‘जेन्डर एफर्मिङ क्लिनिक’ को स्थापना गरेर नियमित रूपमा यी सेवाहरु सुचारु गर्दै जाने डा. जयनमान श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतिक्रिया