मनसुनजन्य विपद् जोखिम न्यूनीकरणका लागि सरकारसँग स्रोत साधनको अभाव

काठमाडौं, २० जेठ । सरकारले सीमित स्रोत साधनका कारण मनसुनजन्य विपद‍्मा उद्धार र राहतका लागि चाहेर पनि धेरै काम गर्न नसक्ने अवस्था रहेको बताएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज पत्रकार सम्मेलनमार्फत यसबारेमा जानकारी दिएको हो । प्राधिकरणका प्रवक्ता उपसचिव रामबहादुर केसीले जोखिम कम गर्न आवश्यक उपकरणहरू तयारी अवस्थामा राखे पनि पर्याप्त सङ्ख्यामा नहुदाँ विपद्पछिको उद्धार र राहतमा समस्या हुनसक्ने बताउनुभएको हो । तर सीमित स्रोत साधनलाई अधिकतम उपयोग गर्ने योजना रहेको उहाँको भनाइ छ ।

प्रवक्ता केसीका अनुसार सुरक्षा निकायसँग रहेको प्रविधि, खोज सामग्री, जनशिक्तको अभावलगायतका समस्यालाई छिटो समाधान गर्नुपर्ने आवश्यकता रहेको छ ।

यसैबीच सरकारले सरकारले मनसुनजन्य विपद् जोखिम न्यूनीकरणका लागि नेपाली सेनाबाहेक १७ हजार ७ सय जनशक्ति परिचालन गर्ने भएको छ । प्राधिकरणका प्रवक्ता केसीले मनसुनजन्य विपद् न्यूनीकरण, विपद्पछिको राहत वितरण, उद्धारका लागि नेपाल प्रहरीबाट १० हजार ८५ र सशस्त्र प्रहरी बलबाट ७ हजार ६ सय १५ जनशक्ति तयारी अवस्थामा राखेको बताउनुभयो । उहाँले नेपाली सेनाले पनि त्यहीअनुसार जनशक्ति तयार पारेको स्पष्ट पार्नुभयो ।

प्राधिकरणका अनुसार पछिल्लो १० वर्षमा नेपालमा ८ हजार ४ सय १८ वटा विपद्जन्य घटना भएका छन् । यी घटनामा २ हजार ३ सय १७ जनाको ज्यान गएको छ । त्यस्तै ४ सय १९ जना बेपत्ता भएका छन् भने २ हजार ६ सय ४९ जना घाइते भएका छन् ।

गएको वर्षको मनसुनमा ७७ वर्षयताकै सबैभन्दा ठूलो वर्षा भएको थियो । असोज १० देखि १३ गतेसम्मको अवधिमा २ सय ५० जनाको ज्यान गएको थियो । ४५ अर्ब रुपैयाँ बराबरको क्षति भएको थियो । गएको वर्षमात्रै २ हजार १ सय ३८ वटा विपद्जन्य घटनाबाट ४ सय ९५ जनाको ज्यान गएको थियो । ६६ जना अझै बेपत्ता छन् ।

प्रकाशित मिति: २१ जेष्ठ २०८२, मंगलबार  २० : १७  बजे