काठमाडौं, १७ जेठ । गृहमन्त्री रमेश लेखकले प्रहरीको वरियताक्रम विपरीत ३२ नम्बर, ३१ नम्बर, ३० नम्बर, २९ नम्बर, २८ नम्बर, २५ नम्बर लगायतको वरियताक्रममा परेका एसपीहरूलाई ११ नम्बर भित्र पारेर बढुवा गर्न लागेको पाइएको छ ।
यसरी बढुवामा पर्न लागेका एसपीहरू सुदूर पश्चिमका हुन् । उहाँहरू गृहमन्त्री रमेश लेखकका अत्यन्तै प्रिय पात्र हो । मन्त्रीको प्रिय भएपछि वरियताक्रममा नपर्दा पनि परिने भएपछि आम नेपाल प्रहरी संगठनमा प्रहरीहरू छक्क पर्न थालेका छन् । यसले कामभन्दा पनि चाकरीवादमा प्रहरी संगठन चलेको केही प्रहरी अधिकारीहरूको भनाइ छ । अहिले एसएसपी पदका लागि ११ स्थानमा ३३ जनाको प्रतिस्पर्धा छ ।
यसमा वरियताक्रम मिच्दै गृहमन्त्रीको सक्रियतामा ३२, ३१, ३०, २९, २८, २५ नम्बरका एसपीहरूलाई धमाधम एसएसपी बनाउन लागिएको छ । जसमा २५औं नम्बरमा रहेका योगेन्द्र सिंह थापालाई पनि विशेष चर्चाका साथ ११ जना भित्र पारेर बढुवा गर्न लागेको हो ।
को हुन् योगेन्द्र सिंह थापा लगायत अरू ?
योगेन्द्र सिंह थापा लेखक परिवारका जजमान भएको खुलेको छ । प्रसिद्ध धार्मिक पीठ त्रिपुरा सुन्दरीका पुजारी लेखक परिवार हुन् भने थापा सोही परिवारका जजमान रहेका र उनी गृहमन्त्री लेखकका अत्यन्त विश्वासिलो पात्र भएको बताइन्छ । यसै कारण गृहमन्त्री लेखकले आफ्नो कार्यकालमै थापालाई जसरी भए पनि बढुवा गराउन लागेको देखिएको छ ।
थापा अहिले प्रहरी प्रशासन शाखामा पनि छन्, जहाँ प्रहरीको गतिविधिको रिपोर्टिङ हुन्छ । यस्तै, जनक भट्ट र ईश्वरी जोशीसँग पनि थापाको साठगाँठ रहेको पाइएको छ । भट्ट र जोशी गृहमन्त्रीका अत्यन्त नजिकका व्यक्ति हुन् । भट्ट गृहमन्त्रीका पीए समेत हुन् । त्यस्तै, थापासँगै रहेका अरू ३२, ३१, ३०, २९, २८ नम्बरका एसपीहरू पनि सुदूर पश्चिमकै हुन् । गृहमन्त्रीको सुदूरको मायाले गर्दा उनीहरू नछुटेको पाइएको छ ।
त्यस्तै, अहिले भिजिट भिसा प्रकरण र धेरै मानव बेचबिखनका मुद्दाहरू आउँदै छन्, किनभने लाखौं नेपालीहरू गैरकानुनी रूपमा नेपालबाट विदेशिएका छन् । भोलिको दिनमा भइपरी आउने मुद्दाहरूलाई सहजीकरण गर्नको लागि कृष्ण पंगेनीलाई मानव बेचबिखन ब्युरोमा लगिएको पाइएको छ । यसले भोलिको दिनमा मानव बेचबिखन ब्युरोको अनुसन्धानमा प्रश्न उठाउन सक्ने अधिकांश प्रहरी अधिकारीहरूको भनाइ छ ।
को हुन् कृष्ण पंगेनी ? बुझौं,
कृष्ण पंगेनी पूर्व प्रहरी प्रमुख र गृहमन्त्रीका एकदमै निकट व्यक्ति हुन् । विशेषतः उहाँलाई पहिले पनि पैसाको चलखेल गर्ने जिम्मा दिइएको थियो । उहाँलाई रुपैयाँ–पैसा चलखेल गर्ने प्रमुख नै बनाइएको पाइएको छ । उहाँले उठाएका रुपैयाँ गृहमन्त्रीसम्म पुर्याइएको पाइएको छ ।
पंगेनीलाई शक्ति केन्द्रको आडमा महाकाली ठेक्काबापत पैसा असुल गरेको आरोप पनि छ । संसदमा प्रमुख प्रतिपक्ष दलसहित बाहिर पनि गृहमन्त्रीको राजीनामाको माग भइरहेका बेला, आज कि भोलि भन्ने अवस्थामा रहेको मन्त्री पदको दुरुपयोग गर्दै गृहमन्त्री लेखकको यो कदमलाई प्रहरी संगठनभित्रै गम्भीर रूपमा लिइएको छ ।
अर्को कुरा छिनभरमै डिआईजी ओमबहादुर रानालाई अख्तियार लगिएको र विवाद भएपछि छिनभरमै हटाएर हिमालय कुमार श्रेष्ठलाई नै कायम गरिएको घटनाले पनि अहिले गृहमन्त्रीको भूमिकामाथि प्रश्न उठाएको छ । आलोचना बढेपछि गृहमन्त्री रमेश लेखकले पुनः अर्को निर्णय गरेर श्रेष्ठलाई थमौती गर्नुभएको छ ।
प्रतिक्रिया