युवा संघ महाधिवेशन : पुरीले नछाड्दा चुनावको सम्भावना बढ्यो

भोली बिहानसम्मलाई निर्वाचन प्रक्रिया स्थगित

पोखरा, ११ जेठ । राष्ट्रिय युवा सङ्घ नेपालको १०औँ महाधिवेशन शुक्रवारदेखि पोखरामा चलिरहेको छ । पोखरा सभागृहमा चलिरहेको बन्द सत्रमा सर्वसम्मत नेतृत्व चयन हुने अवस्था नभएपछि भोलि बिहानसम्मका लागि स्थगित गरिएको छ ।

यसअघि आज राती १० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गर्ने तालिका रहेपनि सर्वसम्मतका लागि भन्दै निर्वाचन प्रक्रिया सुरु गरिएको थिएन । निर्वाचनको माग गर्दै प्रतिनिधिले छुट्टाछुट्टै नाराबाजी गरेपछि भोलि बिहान ६ बजेसम्म निर्वाचनको प्रक्रिया स्थगित गरिएको हो ।

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले हालका अध्यक्ष क्षितिज थेबेलाई अध्यक्ष बनाउन चाहेका थिए । तर, हालमा महासचिव सुमन पुरीले अडान नछोडेपछि ओलीको चाहनाअनुरूप सर्वसम्मत हुन नसकेको हो । अहिले सुमनसहितको टोली निर्वाचनमा जाने गरी तयारीमा जुटेका छन् । निर्वाचनका लागि विद्युतीय भोटिङ मेसिन ल्याइएको छ ।

भोलि बिहान ६ बजे पुनः निर्वाचन तालिका सार्वजनिक गर्ने निर्वाचन कमिटीको तयारी छ ।

प्रकाशित मिति: १२ जेष्ठ २०८२, आइतबार  ०७ : ५०  बजे