काठमाडौं ९ जेठ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको १०औँ महाधिवेशन शुक्रबारदेखि पोखरामा सुरू हुँदै छ।
एमाले अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार दिउँसो महाधिवेशन उद्घाटन गर्नुहुने कार्यक्रम छ।
महाधिवेशनलाई प्रधानमन्त्री ओलीसहित एमाले महासचिव शंकर पोखरेल, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ लगायतले सम्बोधन गर्नुहुने राष्ट्रिय युवा संघ नेपालका कोषाध्यक्ष राकेश राईले जानकारी दिनुभयो।
अधिवेशनको सम्पूर्ण तयारी पूरा बताउँदै देशभरबाट दुई हजार प्रतिनिधि सहभागी हुने कोषाध्यक्ष राईले बताउनुभयो। महाधिवेशनका लागि प्रतिनिधिहरू पोखरामा आइसकेको उहाँले बताउनुभयो।
युवा संघको महाधिवेशनबाट एक जना अध्यक्ष, दुई जना उपाध्यक्ष, महासचिव, उपमहासचिव र चार जना सचिवसहित १५१ सदस्यीय कमिटी निर्वाचित गर्ने छ। जबकि अहिले ३३३ सदस्यीय केन्द्रीय कमिटी र १७ जना पदाधिकारी छन्।
४० वर्ष नाघेकाहरू स्वतः संगठनको नेतृत्वबाट बाहिरिने भएकाले केही सहज भने छ। उमेर हदका कारण उपाध्यक्षहरू अमित लामा, पुष्प श्रेष्ठ, रमेश तिवारी, सीता सुवेदी र अनिता कन्दङ्गवा संगठनबाट अलग भइसकेका छन्।
युवा संघ नेपालको महाधिवेशनमा नेतृत्वका लागि भने अहिलेसम्म अध्यक्षमा पाँच जनाको चर्चा छ। वर्तमान अध्यक्ष क्षीजित थेबे, उपाध्यक्षहरू कृष्णहरी केसी, प्रकाश गौतम, महाराज गुरुङ र महासचिव सुमन पुरीले अआकांक्षा देखाउनुभएको छ। अहिले युवा सङ्घको केन्द्रीय कमिटी तीन सय ३९ सदस्यीय छ।
त्यस्तै महासचिवमा खेम शर्मा, कुबेर अधिकारी, विनय शाह, राजन थापा, महेश चौलागाईं, निरोज पौडेल लगायतको नाम चर्चामा छ। धेरैको चाहना महासचिव पदमै छ। कोषाध्यक्ष राकेश राईले पनि दाबी गर्ने पद उपाध्यक्ष वा महासचिव नै छ।
परिवर्तित नीतिअनुसार युवा संघमा दुई जना उपाध्यक्ष हुने छन्। जसमा एक जना महिला अनिवार्य गरिएको छ। महिला उपाध्यक्षमा शारदा पछाईं, नीशा लिम्बू, रेशु तामाङ, अनुपमा राईले आकांक्षा राखेका छन्। खुलातर्फ बलराम बेलबासे, राजन थापा लगायतको चर्चा छ।
विधान बमोजिम चार जना सचिव निर्वाचित हुनेछन् । तर यो पदमा पनि आकांक्षी संख्या धेरै छन् । सचिवालय सदस्यहरू विनोद राई, मदन गिरी, मदन भण्डारी, मोहम मिजमलगायत सचिव पदका स्वभाविक आकांक्षी छन् ।
२०८२ फागुन १८ गते बसेको एमाले सचिवालय बैठकले जनसंगठनहरूमा पदाधिकारी संख्या ९ मा सीमित गर्ने निर्णय गरेको थियो। उक्त निर्देशनअनुसार युवा संघलगायत जनसंगठनहरूमा एक अध्यक्ष, महिलासहित दुई उपाध्यक्ष, एक महासचिव, एक उमहासचिव र चार सचिव राख्न पाइने छ। जसमा विदेश सचिव, संगठन सचिव, प्रचार सचिव, कोष सचिव या कोषाध्यक्षको प्रबन्ध गर्न सकिने एमालेले बताएको छ।
प्रतिक्रिया